काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका पूर्व पदाधिकारीहरू छलफलमा जुटेका छन् । आइतबार सानेपास्थित पूर्व उपसभापति गोपालमान श्रेष्ठको अपार्टमेन्टमा पार्टीका प्रभावशाली पूर्व पदाधिकारीहरू छलफलमा जुटेका हुन् । छलफलमा नेताहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, बिमलेन्द्र निधि, कृष्ण सिटौला र प्रकाशशरण महत रडा. शंशाक कोइराला सहभागी थिए।
उनीहरूले पार्टीको आगामी अधिवेशन र समसामयिक राजनीति लगायतका विषयमा छलफल गरेको बताइएको छ । ‘नेपाली कांग्रेसका प्रभावशाली पूर्व पदाधिकारीहरू पार्टीको भावी अधिवेशन र वर्तमान राजनीतिक विषयमा छलफल भएको हो’ कांग्रेसका एक नेताले सुनाए । छलफलमा नेताहरूले आगामी महाधिवेशनमा कसरी सहकार्य भन्नेबारे छलफल गरेको बताइएको छ । नेता सिटौलाले छलफल एक घण्टासम्म चलेको बताए ।

‘देशको समसामियक राजनीतिक र पार्टीको आन्तरिक राजनीतिबारे छलफल भयो । पार्टीको क्रियाशील नवीकरण चलिरहेको छ । यो तोकिएको समयमा किन पूरा हुने अवस्था भएन भन्नेबारे कुरा भयो,’ उनले भने, ‘हामी छलफलमा बसेका पूर्व पदाधिकारीहरू चाहन्छौँ– पार्टीभित्र बृहत एकता होस्, देश र जनतासामु आएका चुनौती सामना गर्न पार्टी सक्षम होस् । यसबारे सभापतिलाई भेटेर ध्यानाकर्षण गराउने भन्ने भएको छ । समय मिलाएर जान्छौं ।’
कांग्रेसमा पार्टीको १५औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाको टिमबाट को सभापति बन्ने भन्ने विषय चासोका साथ हेरिँदै आएको छ । देउवा तेस्रो पटक सभापति बन्न नपाउने विधानको व्यवस्थाअनुसार उनले आफ्नो समूहबाट कसलाई सभापतिको उम्मेदवार बनाउँछन् भन्ने टुंगो छैन । देउवाले यसबारे मुख खोलेका छैनन् । देउवा मौन बसिरहेपछि गत फागुन २ गते संस्थापन समूहमा रहेका ११ जना नेताले देउवाकै निवास बूढानीलकण्ठमा भेटेर सभापतिको उम्मेदवार तोक्न आग्रह गरेका थिए ।