काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसंघको हानी नोक्सानी कोष (फण्ड फर रेस्पोण्डिङ टु लस एण्ड ड्यामेज) का कार्यकारी निर्देशक इब्राहिम चैख डाइओङले आज शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सगरमाथा संवादको पहिलो शृङ्खलामा सहभागी भएकामा धन्यवाद दिँदै हिमाल र वातावरणको रक्षा हुन नसके मानवीय जीवनमा असुरक्षा हुने भएकाले यस विश्व समुदायको ध्यान पुग्नुपर्नेमा जोड दिए । कतिपय ठुला धनी मुलुक पेरिस सम्झौताबाट पछि हट्न खोजेकामा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले नेपालमा रहेको सगरमाथा र हिमालहरुको रक्षा नेपालका साथै विश्वका लागि उत्तिकै महत्वको सवाल भएको बताए ।

कार्यकारी निर्देशक डाइओङले सगरमाथा संवाद जस्तो महत्वपूूर्ण सम्मेलन आयोजनाका लागि नेपाललाई बधाई दिँदै कोषका तर्फबाट आगामी दिनमा रकम परिचालन गर्दा नेपाल जस्ता मुलुकलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे । भेटका अवसरमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल र वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. महेश्वर ढकाललगायत सहभागी थिए।
कोप–२७ को निर्णयका आधारमा जलवायु परिवर्तनको मार खेपिरहेका विकासोन्मुख मुलुकलाई सहयोग गर्न उक्त कोष खडा गरिएको हो । कोषको बोर्डमा पेरिस सम्झौतामा हस्ताक्षरकर्ता मुलुकबाट २६, विकासित मुलुकबाट १२ र विकासोन्मुख मुलुकबाट १४ सदस्य रहने छन् । अल्पविकसित मुलुकका तर्फबाट नेपालका वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. ढकाल बोर्डको आमन्त्रित सदस्य रहेका छन् ।