बुटवल। नेपाल सरकारले प्राविधिक विषय तर्फतको प्रवेश परिक्षा प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटीईभीटी)ले नलिई स्वयम् शिक्षालय आफैले सूचना प्रकाशन गरि लिने नयाँ व्यवस्था गरेपछि फोरम फर हेल्थ साईन्स लुम्बिनी प्रदेश समितिको आयोजानमा बुटवलमा पाठ्यक्रम तथा परीक्षा प्रणाली विषयमा गोष्ठी आयोजना गरेको छ ।
फोरम फर हेल्थ साईन्स लुम्बिनी प्रदेशका अध्यक्ष चेतन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् लुम्बिनी प्रदेशका अध्यक्ष यादव सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो । प्रदेश सचिव विनोद घिमिरेको सञ्चालन तथा कोषाध्यक्ष मिना पन्थीको स्वागत मन्तव्य रहेको कार्यक्रममा फोरम फर हेल्थ साईन्सका केन्द्रीय सदस्य डिपी खनाल, केन्द्रीय सल्लाहकार चिरन्जीवी जोशी, पुर्व केन्द्रीय सदस्य कमल भण्डारी, पुर्व केन्द्रीय अध्यक्ष गोविन्द खनाल, पुर्व केन्द्रीय सचिव गणेश ज्ञवाली, पुर्व अध्यक्ष प्रकाश राना लगायतले आ आफ्नो भनाई राखेका थिए । गोष्ठीमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् लुम्बिनी प्रदेश कार्यालयका बरिष्ठ अधिकृत राजु भुषाल, परिक्षा शाखा अधिकृत रोजिता शाक्यले प्रशिक्षण प्रदान गरेका थिए ।

लुम्बिनी प्रदेशका १२ जिल्लाका १ सय ७५ वटा नीजी, आंगीक र टेक्स(साझेदारी) विद्यालयका प्रधानाध्यापक, प्रमुख तथा परिक्षा शाखा प्रमुखहरुको गोष्ठीमा सहभागीता रहेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले ‘एसइई’मा प्राप्त गरेको ‘जिपिए’ अङ्कका आधारमा विद्यार्थी भर्ना गर्ने गर्ने यस बर्षबाट सुरुवात गरेको छ । विगतमा प्रवेश परीक्षा लिएर सोही आधारमा विद्यार्थी भर्ना गरेकामा अबदेखि प्राप्त ‘जिपिए’का आधारमा भर्ना गर्न लागेको हो । कार्यक्रममा बोल्दै सिटीईभीटी लुम्बिनी प्रदेश प्रमुख यादव सुवेदीले सिटिइभिटीले प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्नासम्बन्धी निर्देशिका २०८२ तयार गरी कार्यान्वयनमा ल्याएको जानकारी दिए । । उक्त निर्देशिकामा एसइई परीक्षामा प्राप्त जिपिएका आधारमा योग्यताक्रम सूची तय गर्ने व्यवस्था गरेको उनले बताए । सरकारी वा सामुदायिक विद्यालयबाट एसइई उत्तीर्णलाई थप अङ्कभारबापत एक र संस्थागत विद्यालयबाट उत्तीर्णलाई थप अङ्कभार वापत ०.८५ दिने व्यवस्था गरिएको छ ।सिटिइभिटीले पढ्न चाहने विद्यार्थीका लागि अनलाइनमार्फत फारम भर्ने व्यवस्थासमेत गरेको छ । आङ्गिक र सम्बन्धनप्राप्त निजी क्याम्पसहरूले त्यस्ता विद्यार्थीको फारम भर्न सहजीकरण गर्नेछन् । निजी कलेजहरूले यसअघि नै ग्रेडका आधारमा भर्ना गर्न माग गर्दै आएका थिए । अव सम्बन्धीत संस्थाले नै भर्नाको लागि भर्ना छनौट परिक्षा लिने भएको कारण अन्य भन्दा सहज हुने फोरम फर हेल्थ साईन्स केन्द्रीय सदस्य डिपी खनालले जानकारी दिए ।
उनका अनुसार अव विद्यार्थीले जुन संस्थामा पढ्ने हो, सोही संस्था छनौट गरी प्रवेश परिक्षाको लागि आवेदन दिने छ । सोही अनुसार एसईईमा आएको जीपीएको आधारमा भर्ना हुने छन् । एउटा संस्थामा सिटीईभीटीले ४०÷४० जना विद्यार्थी भर्नाको लागि कोटा निर्धारण गरेको हुन्छ ।