बुटवल जिल्लाकै पहिलो ‘पूर्ण खोप दिगोपन र संस्थागत प्रसूति सेवा युक्त पालिका’ घोषित

Shares

बुटवल। बुटवल उपमहानगरपालिका जिल्लामै पहिलो पटक “पूर्ण खोप दिगोपन सुनिश्चितता तथा पूर्ण संस्थागत प्रसूति सेवा युक्त पालिका” घोषित भएको छ। मंगलबार एक विशेष कार्यक्रमकाबीच उपमहानगरपालिकाले यो घोषणा गरेको हो।

नगर प्रमुख खेलराज पाण्डेयका अनुसार, स्वास्थ्य सेवा पहुँच र गुणस्तरमा निरन्तर सुधार गर्दै सबै लक्षित समूहमा पूर्ण खोप सुनिश्चित गर्नुका साथै स्वास्थ्य संस्थाहरूबाट सुरक्षित प्रसूति सेवा निरन्तरतामा विशेष ध्यान दिइएको प्रमाणित भएपछि यो उपलब्धि हासिल भएको हो।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख उमाकान्त चपाइले बुटवल उपमहानगरपालिका २०८१/०८२ सालमा विभिन्न मापदण्डहरू पूरा गरेर घोषणामा पुग्ने जिल्लामै पहिलो पालिका बनेको बताए। उनले अन्य पालिकाहरूलाई पनि यसैगरी सफलता हासिल गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।

यद्यपि जिल्लामा अझै पनि पोषणको कमी र मातृ मृत्युदर उच्च रहेको उल्लेख गर्दै उनले सरोकारवालाहरूले समन्वयात्मक ढंगमा सुधारतर्फ लाग्नुपर्नेमा जोड दिए।

नगर प्रमुख पाण्डेयले बुटवललाई गत वर्ष नै यो घोषणा गर्ने तयारी भए पनि केही कारणले एक वर्ष ढिलाइ भएको बताए। “एक वर्ष ढिला भए पनि जिल्लामै पहिलो घोषणा हुनुले सन्तोष र गर्व लागेको छ,” उनले भने।

स्वास्थ्य शाखा, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकालगायत सबैको समन्वयात्मक प्रयासबाट यो सफलता प्राप्त भएको उल्लेख गर्दै उनले नसर्ने रोगहरूको रोकथाम चुनौतीपूर्ण रहेको बताए।

नगर प्रमुख पाण्डेयले बुटवल उपमहानगरपालिकाले शैक्षिक सूचकांक सुधारका लागि विद्यालय नगएका बालबालिका खोजी गर्न घर–घर पुगेर अभियान चलाएको स्मरण गरे। बालबालिकालाई सडकमा माग्न पठाउने प्रवृत्तिमाथि कडाइ गर्न सेवा–सुविधा रोक्ने चेतावनीपछि धेरै अभिभावक सचेत बनेको र बालबालिकाको विद्यालयमा उपस्थितिमा सुधार आएको बताए।

साथै, बुटवलले अस्पतालमा सुरक्षित रूपमा बच्चा जन्माउने महिलालाई दुई हजार रुपैयाँ पोषण भत्ता प्रदान गर्दै आएको पनि उनले जानकारी गराए।

कार्यक्रममा उपप्रमुख सावित्रा देवी अर्यालले घोषणासम्बन्धी प्रतिवेदन वाचन गरेकी थिइन्।

त्यसैगरी, स्वास्थ्य कार्यालय रूपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवाली, आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद पराजुली, बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डे लगायतले आवश्यक मापदण्ड, प्रक्रिया र यस अभियानको महत्त्वबारे आफ्नो धारणा व्यक्त गरेका थिए।

You may also like

This will close in 0 seconds