काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५ औं महाधिवेशन आगामी मंसिरमा हुनुपर्ने भए पनि कोही पदाधिकारी नबोलेको बताएका छन् ।
बीपी कोइराला सोसलिस्ट इन्टरनेशनल नेपालद्बारा सोमबार काठमाडौंमा आयोजित ‘बिपीको समाजवाद र स्थानीय सरकार’ नामक पुस्तक लोकार्पण तथा ‘आजको सन्दर्भमा बीपीको समाजवादी चिन्तनको सार्थकता र सान्दर्भिकता’ विचार गोष्ठीमा उनले यस्तो बताएका हुन् ।
उनले पार्टीका भ्रातृ संस्थाहरू लथालिङ्ग भएको बताए । उनले पार्टीको १५ औं महाधिवेशन आगामी मंसिरमा हुनुपर्ने भए पनि हुन्छ-हुँदैन भन्ने कोही नेतृत्व तथा पदाधिकारी नबोलेको धारणा राखे । उनले यस्तो लथालिङ्ग अवस्थाले पार्टी नचल्ने समेत जिकिर गरे । सांसद कोइरालाले जनतालाई को प्रधानमन्त्री हुने र को मन्त्री हुने भन्नेमा सरोकार नभएको समेत बताए । उनले नागरिकहरूले धेरै नखोजेको बताउँदै भ्रष्टाचार नियन्त्रण गर्न आग्रह गरेको धारणा राखे ।
उनले भने, ‘नेपाली कांग्रेसको कुरा गरौँ, भ्रातृ संस्थाहरू लथालिङ्ग छ, महाधिवेशन २०८२ को मङ्सिरमा हुनुपर्ने हो । हुन्छ–हुँदैन, कोही नेतृत्व–पदाधिकारीहरू बोल्नु हुन्न । यसरी त पार्टी पनि चल्दैन, मुलुक पनि चल्दैन । को प्रधानमन्त्री हुने, को मन्त्री हुनेसँग जनतालाई सरोकार छैन । म सडकको जनताको कुरा गर्दैछु । नागरिकले धेरै कुरा खोजेका छैनन्। उनीहरूले तिमीहरू भ्रष्टाचार रोक, भ्रष्टाचार हुन नदेऊ भनेका छन् ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन भ्रष्टाचार गर्दिन र भ्रष्टाचार हुन दिन्न भने पनि भ्रष्टाचारको नियन्त्रण र अनुसन्धान गर्ने राज्यका संयन्त्रहरू कमजोर भएको बताए ।