बुटवलमा पहिलोपटक मिडिया मन्थन, सञ्चारको विविध पक्षमा छलफल हुने

Shares

नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको आयोजनामा वैशाख ११ गते बुटवलमा मिडिया मन्थन कार्यक्रम हुने भएको छ ।

बिहीबार दिउँसो हुने उक्त कार्यक्रममा सञ्चार क्षेत्रका विविध विषयमा चारवटा सेसनमा प्यानल छलफल हुनेछ । पत्रकार सम्मेलनमार्फत महासंघले कार्यक्रमको जानकारी गराएको हो । पहिलो सेसन ‘पत्रकार पेशागत सुरक्षा’ विषयमा हुनेछ, जसमा महासंघ अध्यक्ष निर्मला शर्मा, लुम्बिनी प्रदेश अध्यक्ष शुक्रकृष्ण चौलागाईं, रुपन्देही शाखा अध्यक्ष दिनेश पाण्डे, लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगाना प्यानलिस्ट रहने छन् । यस सेसनको सहजकर्ता पत्रकार भवानी पाण्डे रहनेछन् ।

दोस्रो सेसन ‘कसका समाचार, कस्ता समाचार’ विषयमा हुनेछ, जसमा थाहा खबरका सम्पादक तीर्थ कोइराला, बाह्रखरी अनलाइनका विशेष सम्पादक हरिबहादुर थापा, लुम्बिनी दैनिकका सम्पादक शेरबहादुर के.सी, लुम्बिनी टेलिभिजनका समाचार प्रमुख भगवती पाण्डे प्यानलिस्ट रहने छन् भने सिपी खनालले सहजकर्ता रहनेछन् । तेस्रो सेसन ‘मिडिया व्यवस्थापन : सफल कि असफल?’ भन्ने विषयमा केन्द्रित हुनेछ, जसमा सेतोपाटीका व्यवस्थापक प्रकाश ढुंगाना, प्रकाशन तथा प्रसारण समाजका अध्यक्ष नवराज कुवर, अनलाइन एशोसियनका अध्यक्ष गौतम भुसाल र रेडियो मुक्तिका व्यवस्थापक कल्पना तिवारी प्यानलिस्ट हुनेछन् ।

सहजकर्ता नरेश के.सी रहनेछन् । चौथो सेसन ‘सामाजिक सञ्जाल र आम सञ्चार : सम्भावना र चुनौती’ विषयमा हुनेछ, जसमा मिडिया अनुसन्धानकर्ता उज्ज्वल आचार्य, लुम्बिनी प्रविधि प्रतिष्ठान प्रमुख अनुप बास्कोटा, बीबीसी संवाददाता माधव नेपाल र देवदह प्रेस क्लब अध्यक्ष विष्णु पोखरेल सहभागी हुनेछन् भने विनोद परियारले सहजकर्ता रहनेछन् ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले मिडिया मन्थनमा सञ्चारकर्मीका साथै आम नागरिकले पनि सहभागिता जनाउन सक्ने जानकारी दिनुभयो । यस्तै महासंघले तीनतहका सरकारका अधिकार र कार्यान्वयन अवस्थाबारे लेखनवृत्ति तालिम पनि सञ्चालन गरिरहेको छ, जसमा पूर्व मुख्य सचिव सोमलाल सुवेदी, वरिष्ठ पत्रकार शेरबहादुर के.सी, अधिवक्ता खिमलाल देवकोटा लगायतले प्रशिक्षण दिइरहेका छन् ।

तालिममा सिद्धार्थनगर, देवदह, गैडहवा र बुटवल उपमहानगरपालिकाका प्रशासन प्रमुख तथा जनप्रतिनिधिहरूले पनि स्थानीय सरकारको अभ्यास र मिडियाको भूमिकाबारे अनुभव साटेका छन् ।

You may also like