वेष्ट्रन क्रिकेट एकेडेमी च्याम्पियन, देवदह क्रिकेट युनिट उपविजेता

Shares

बुटवल । वेष्ट्रन क्रिकेट एकेडेमीको आयोजनामा सम्पन्न १४ वर्षमुनिको वेस्टर्न क्रिकेट कप २०८१–८२ को फाइनल खेलमा आयोजक टोली वेष्ट्रन क्रिकेट एकेडेमीले देवदह क्रिकेट युनिटलाई १३ रनले पराजित गर्दै उपाधि हात पारेको छ।

बुटवलको नरैनापुर क्रिकेट मैदानमा १९ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न टिमहरूको सहभागिता रहेको थियो। फाइनल खेलमा वेष्ट्रन क्रिकेट एकेडेमीले १६.४ ओभरमा ५५ रन बनाएको थियो भने देवदह क्रिकेट युनिट १६.५ ओभरमा ४२ रनमै समेटिएको थियो।

विजेता वेष्ट्रन क्रिकेट एकेडेमीलाई नगद ४१ हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्रदान गरियो भने उपविजेता देवदह क्रिकेट युनिटले नगद २१ हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्रमा चित्त बुझायो। साथै, खेलाडीहरूलाई नगद, प्रमाणपत्र र मायाको चिनोसहित सम्मान गरिएको थियो।

वेष्ट्रनका सुप्रिम कँडेलले ४ ओभरमा २ मेडन राख्दै मात्र ३ रन खर्चेर ४ विकेट लिँदै म्यान अफ द फाइनलको उपाधि जिते। प्रतियोगिताभरको उत्कृष्ट प्रदर्शनका आधारमा उनी म्यान अफ द सिरिज पनि घोषित भए।

अन्य पुरस्कार विजेता खेलाडीहरूमा गाग्री स्कुलका अनमोल पुन उदयमान खेलाडी घोषित भए भने वेष्ट्रन क्रिकेट एकेडेमीका सम्राट पोखरेल उत्कृष्ट बलर र देवदह क्रिकेट युनिटका रोहित कुन्वर उत्कृष्ट ब्याट्सम्यान घोषित भए।

समापन समारोहमा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालले बुटवल खेलकुदको सम्भावना बोकेको नगर भएको बताउँदै भनिन्, “बुटवललाई हामी खेलाडी उत्पादन गर्ने थलो बनाउन चाहन्छौं। अहिलेको पुस्तालाई खेलकुदप्रति अभिप्रेरित गर्न यस्ता प्रतियोगिताहरू आवश्यक छन्। नगरपालिकाले खेलकुदका लागि ४ करोड रुपैयाँ छुट्याएको छ। यो मात्र सुरुवात हो, आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याउने योजना छ।”

उनले थप भनिन्, “हामीले अहिले पनि धेरै किसिमका खेल गतिविधिहरूलाई सहयोग गर्दै आएका छौं। यस्तो कार्यक्रमले नानीबाबुहरूमा आत्मविश्वास विकास गर्नुका साथै उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितासम्म पुर्‍याउने सपना बोकेका अभिभावक र प्रशिक्षकहरूको पनि हौसला बढाउँछ।”

पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकालले यस्ता प्रतियोगिताले स्थानीय प्रतिभाको पहिचान र प्रोत्साहन गर्ने बताए। नेपाल मोबाइल व्यवसायी संघका केन्द्रिय सदस्य विष्णु ज्ञवालीले खेलकुदमा लगानीको खाँचो औंल्याए। रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले प्रदेशस्तरीय प्रतियोगिता सञ्चालनमा सहयोग गर्ने प्रतिबद्धता जनाए। बुटवल–११ का वडा अध्यक्ष रामचन्द्र पौडेलले वडास्तरमै यस्ता प्रतियोगिता आयोजना हुनुपर्ने बताए।

वेष्ट्रन क्रिकेट एकेडेमीका अध्यक्ष भुवन पाण्डेले खेलकुद सामग्री वितरणदेखि मैदानको संरक्षणसम्म सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै बुटवललाई खेलकुदको सशक्त केन्द्र बनाउने अठोट व्यक्त गरे। कार्यक्रममा जनक थापा लगायत अन्य विशिष्ट अतिथिहरूको समेत उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन सुमन श्रेष्ठले गरेका थिए।

You may also like