बुटवल।क्यान महासंघ रुपन्देहीले नयाँ वर्ष २०८२ को अवसरमा तयार पारेको टेवल पात्रो (मेचमा राख्ने पात्रो) सार्वजनिक गरिएको छ। साथै, शुभकामना आदान–प्रदान कार्यक्रम पनि सम्पन्न भयो। यो कार्यक्रम २०८१ साल चैत ३१ गते आइतबार सम्पन्न भएको हो।
पात्रो तयार गर्न सहयोग गर्ने सबै विज्ञापनदाताहरू, सहयोगीहरू र कार्यक्रममा सहभागी सबैप्रति क्यान महासंघ रुपन्देहीले धन्यवाद प्रकट गरेको छ।
कार्यक्रममा क्यान महासंघका केन्द्रिय सदस्य नारायण प्रसाद श्रेष्ठ, ध्रुवराज शर्मा, लुम्बिनी प्रदेश अध्यक्ष नारायण प्रसाद खनाल, र क्यान रुपन्देहीका पूर्व अध्यक्ष रामुदेव गौतमले शुभकामना मन्तव्य राख्नुभएको थियो। उहाँहरूले हरेक वर्ष झैं यसपालि पनि पात्रो प्रकाशित गरेकोमा धन्यवाद तथा प्रशंसा व्यक्त गर्नुभयो।
कार्यक्रमको अध्यक्षता क्यान रुपन्देही अध्यक्ष जीवन अधिकारीले गर्नुभएको थियो भने सञ्चालन महासंघका सचिव सुरेशचन्द्र भट्टराईले गर्नुभएको थियो। कार्यक्रममा कार्यसमिति सदस्य, उपसमिति सदस्य र आजीवन सदस्यहरूको उपस्थिति रहेको थियो।
यसै क्रममा, क्यान महासंघ रुपन्देहीले आगामी राष्ट्रिय सूचना तथा प्रविधि दिवस २०८२ (जेठ १९ गते) को अवसरमा एक साता लामो कार्यक्रम गर्ने जानकारी दिएको छ।
सो कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेश सरकार, बुटवल उपमहानगरपालिका र अन्य स्थानीय सरकारसँग मिलेर सूचना प्रविधिसम्बन्धी गोष्ठी, डिजिटल साक्षरता कार्यक्रम, रक्तदान तथा प्रभातफेरीजस्ता कार्यक्रमहरू सञ्चालन गरिनेछ।