बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधिवेशनअन्तर्गतको निर्वाचन असोज २६ गते हुने भएको छ। निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै मतदान बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने जनाएको छ।
प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेका अनुसार निर्वाचनका लागि असोज १५ गते नै प्रारम्भिक मतदाता नामावली प्रकाशन भइसकेको छ। उक्त नामावलीमाथि दाबी–विरोधका लागि असोज २१ गते दिउँसो ३ बजेसम्मको समय तोकिएको छ। सोही दिन दिउँसो साढे ३ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ।
निर्वाचन कार्यतालिकाअनुसार असोज २३ गते साधारण सभाको दिन साँझ ५ बजेदेखि ६ बजेसम्म मनोनयनपत्र वितरण गरिनेछ भने साँझ ६ देखि ७ बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्नेछ। सोही दिन साँझ ८ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।
उम्मेदवारमाथि दाबी–विरोधका लागि असोज २४ गते बिहान ८ बजेदेखि ९ बजेसम्मको समय तोकिएको छ। उम्मेदवारले सोही दिन बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन्। त्यसपछि बिहान साढे ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।
कुनै एक पदमा एकभन्दा बढी उम्मेदवारी परेमा उम्मेदवारको अन्तिम नामावली तथा मतपत्रमा नाम अंग्रेजी अल्फाबेटको क्रमअनुसार राखिने निर्वाचन समितिले जनाएको छ। विशेष परिस्थिति उत्पन्न भएमा निर्वाचन कार्यक्रम संशोधन गर्न सकिने व्यवस्था पनि गरिएको छ।
अधिवेशनबाट संघको आगामी कार्यकालका लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उद्योग उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव र सहकोषाध्यक्ष पदमा निर्वाचन हुनेछ।
त्यस्तै, कार्यसमिति सदस्यतर्फ उद्योगबाट ४, वाणिज्यबाट ४, महिलाबाट २ र खुलातर्फ ७ गरी कुल १७ जना निर्वाचित हुने वैधानिक व्यवस्था रहेको छ।
निर्वाचन समितिले उम्मेदवारी शुल्कसमेत निर्धारण गरेको छ। प्रमुख निर्वाचन अधिकृत पाण्डेका अनुसार शुल्क फिर्ता नहुने गरी अध्यक्ष पदका लागि १ लाख रुपैयाँ, अन्य पदाधिकारीका लागि ५० हजार रुपैयाँ, एसोसिएट सदस्य पदका लागि ४० हजार रुपैयाँ र सदस्य पदका लागि २५ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ।

