संघीयता सुधार्न खुट्टाले टेक्नुपर्छ, व्यवस्था बदल्न खोज्नु मूर्खता हो : महामन्त्री गगन थापा

Shares

बुटवल।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघीयता टाउकोले मात्र होइन, अब खुट्टाले पनि टेक्ने बेला आएको बताएका छन्। रुपन्देही क्षेत्र नं १ मा आयोजित नेपाली कांग्रेसको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले हालको संघीय व्यवस्था सुधार गर्नुपर्ने आवश्यकता औंल्याए।

नेता थापाले खर्च व्यवस्थापन गर्न नसकिएको समस्या संघीयतामा देखिएको भन्दै खर्च कटौती गर्नुपर्ने धारणा राखे। उनले जनप्रतिनिधि, मन्त्री तथा सांसदहरूको संख्या घटाउनु पर्ने र उपराष्ट्रपति, उपसभामुखजस्ता पदहरू हटाउनुपर्ने सुझाव दिए।

“केही साथीहरू सडकमा छन्, व्यवस्था बदल्ने कुरा गरिरहेका छन्। राष्ट्रपतिको ठाउँमा राजा राखेर समाधान खोज्न खोजिँदैछ,” थापाले भने, “तर संवैधानिक राजतन्त्र नेपालमा सम्भव देखिएन, राजतन्त्र प्रजातन्त्रको विरुद्ध जान्छ। कांग्रेस यस्तो सोचमा कहिल्यै साथ दिन सक्दैन।”

थापाले ३० वर्षे पञ्चायती काल र प्रजातान्त्रिक कालको विकासबीच आकाश–पातालको फरक भएको उल्लेख गर्दै ‘राजाले विकास गरे’ भन्ने भनाइ झुटो भएको दाबी गरे। उनले माओवादी युद्ध, शान्ति प्रक्रिया, हतियार व्यवस्थापन, कोरोना महामारी जस्ता चुनौतीबीच पनि विकास जारी रहेको बताए।

“गृहयुद्धपछि शान्ति ल्याउन र देशलाई नयाँ दिशातर्फ लैजान कांग्रेसले प्रमुख भूमिका खेलेको हो,” उनले भने, “यसले कांग्रेसलाई सबैभन्दा व्यवस्थित र प्रजातान्त्रिक पार्टीको रूपमा प्रमाणित गर्छ।”

फरक प्रसंगमा थापाले माओवादी केन्द्रसँग चुनावी तालमेल गर्नु गलत भएको भन्दै कांग्रेसले आगामी चुनाव एक्लै लड्नुपर्ने धारणा राखे। उनले पार्टीभित्र एकता बलियो बनाइयो भने कांग्रेसलाई हराउन कोही नसक्ने दाबी गरे।

कार्यक्रममा पूर्व गृहमन्त्री बालकृष्ण खाण, केन्द्रीय सदस्य अब्दुल रज्जाक, भरत शाह लगायत नेताहरूले नेपाली कांग्रेस नै देशलाई सही दिशा दिन सक्ने शक्ति भएको बताएका थिए।

कार्यक्रममा क्षेत्रीय सभापति हिराबहादुर खत्रीले बेरोजगारी प्रमुख समस्या भएको भन्दै सबैलाई उत्पादनमुखी काममा लाग्न आग्रह गरे। सम्मेलनमा क्षेत्रीय सचिव बैजनाथ शहानीले सञ्चालन गरेका थिए भने उपसभापति नवीनराज आचार्यले स्वागत मन्तव्य राखेका थिए।

सम्मेलनमा राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदन क्रमशः सभापति खत्री, सचिव विजय गुरुङ र कोषाध्यक्ष यज्ञ अर्यालले प्रस्तुत गरेका थिए, जसलाई सर्वसम्मतिले पारित गरिएको थियो।

You may also like

skip


This will close in 5 seconds