बुटवल ।२३औँ तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा तथा यशोदा फुड्स प्रालि र त्रिमूर्ति इण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजन तथा प्रदेश खेलकुद परिषद् लुम्बिनीको मुख्य सहयोगमा प्रतियोगिता सञ्चालन भइरहेको छ।
प्रतियोगिताको उद्घाटन खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले पहिलो हाफमा १–० को अग्रता लिएको छ। खेलको १७औँ मिनेटमा एपीएफका हरि कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाए। निकै प्रतिस्पर्धात्मक खेलमा आयोजक करेन्ट रुपन्देही –११ दबाबमा रहेको देखियो। दोस्रो हाफ सुरु भएसँगै हावाहुरी चलेपछि खेल रोकिएको थियो। लामो समय मौसम प्रतिकूल भएकाले खेल स्थगित गर्ने निर्णय गरिएको तिलोत्तमा गोल्डकप फुटबल संघका अध्यक्ष लोक पुनले जानकारी दिए। बाँकी खेल आइतबार बिहान ८ बजे सञ्चालन हुने उनले बताए।
आइतबार दिउँसो चर्च ब्वाइज युनाइटेड, ललितपुर र नेपाल पुलिस क्लब, काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले नगरभित्र खेलकुदको विकास तथा युवा खेलाडी उत्पादनका लागि सरकारको लगानी निरन्तर बढ्दै गएको बताए। “हाल ५८ वटा नगरहरूको अगुवाइमा तथा विभिन्न संघसंस्थासँगको समन्वयमा अझ बढी प्रतियोगिताहरू आयोजना भइरहेका छन्,” उनले भने। नगरभित्र आयोजना हुने यस प्रतियोगितामा नगरबासीलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने भविष्यमा रात्रीकालीन प्रतियोगिता समेत गर्ने प्रतिबद्धता व्यक्त गरे। खेलकुदले युवाहरूलाई आकर्षित गर्दै आशावादी बनाउने लक्ष्य रहेको उनले बताए। राजधानी बाहिरकै उत्कृष्ट गोल्डकप प्रतियोगिता भएकाले अझ परिस्कृत गर्दै लैजाने उनको भनाइ थियो।
कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का निवर्तमान अध्यक्ष कर्मा छिरिङले तिलोत्तमा गोल्डकपलाई अझ परिस्कृत रूपमा लैजानुपर्ने सुझाव दिए। रात्रीकालीन प्रतियोगिताका लागि फ्लड लाइट जडान आवश्यक रहेको भन्दै उनले त्यसतर्फ ध्यान दिन आग्रह गरे। त्यस्तै, फुटबल स्तरवृद्धिका लागि प्रशिक्षकहरूको तालिम आयोजनामा जोड दिनुपर्ने उनले बताए।
एन्फाका केन्द्रीय उपाध्यक्ष दीर्घ बहादुर केसी र नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले खेलकुद विकासमा सरकारले अझ बढी सहयोग गर्नुपर्ने धारणा राखे।