बुटवल।श्री नेवा पुच: (नेवा समाज विकास परिषद्) बुटवल, रूपन्देहीले हर्षोल्लासपूर्ण वातावरणमा होली मिलन कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले होली जस्ता चाडहरूले समाजमा आपसी सद्भाव, भाइचारा र आत्मीयता बढाउने बताए। उनले बुटवल उपमहानगरपालिकाले नेवार समुदायको सांस्कृतिक, धार्मिक तथा आर्थिक प्रवर्द्धनमा विभिन्न पहलहरू गरिरहेको उल्लेख गरे। साथै, असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा होली पर्वको ऐतिहासिक महत्त्वसमेत प्रस्ट्याए।
नेवा पुच: का अध्यक्ष काजिमान श्रेष्ठले नेवार समुदायका विभिन्न मुद्दामा बुटवल उपमहानगरपालिकाले सधैँ सकारात्मक सहयोग गर्दै आएको बताए। उनले नेपालमै पहिलो पटक बुटवलमा नेवारी भाषामा बडापत्र राखिएको उल्लेख गर्दै नगरपालिकालाई धन्यवाद व्यक्त गरे।
होली मिलन समारोहमा चोपनारायण श्रेष्ठ, देवीप्रसाद श्रेष्ठ, आनन्दभगत श्रेष्ठ, लकुश श्रेष्ठ, रामेश्वरप्रसाद श्रेष्ठ, चिरञ्जीवी जोशी, माधवप्रसाद श्रेष्ठ, विष्णुप्रसाद श्रेष्ठ, नेवा पुच: का सचिव लक्ष्मी श्रेष्ठलगायत विभिन्न व्यक्तित्वहरूले होली पर्वको सांस्कृतिक महत्त्व र सामाजिक सद्भावबारे विचार व्यक्त गरे।
कार्यक्रमले सहभागीहरूबीच आत्मीयता बढाउँदै समुदायमा सांस्कृतिक पहिचान मजबुत बनाउने उद्देश्य पूरा गरेको आयोजकले जनाएको छ।