क्यान महासंघ रूपन्देहीको आयोजनामा बुटवलमा ‘बिजनेस कस्टमर समिट २०२५’ हुने

क्यान महासंघ रूपन्देहीले बुटवलमा फागुन २६ र २७ गते ‘बिजनेस कस्टमर समिट २०२५’ आयोजना गर्ने तयारी गरेको छ। मंगलबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा क्यान रूपन्देहीका अध्यक्ष जीवन अधिकारीले ब्रान्ड लक्षित प्रदर्शनीमा विशेष ध्यान दिइएको जानकारी गराए।

उनका अनुसार आइटी क्षेत्रमा चासो राख्ने सबैलाई सहभागी गराउने लक्ष्य राखिएको छ, तर आर्थिक कारोवारलाई यस प्रदर्शनीको मुख्य उद्देश्य बनाइएको छैन। उनले भने, “प्रदर्शनी भनेको प्रविधिको जानकारी दिनेस्थल हो, यसका लागि टिकट लिने उचित नठानी निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। लक्षित समूहलाई सहभागी गराउने हाम्रो मुख्य लक्ष्य हो।”

क्यान महासंघका केन्द्रीय सदस्य तथा रूपन्देहीका पूर्व अध्यक्ष नारायणप्रसाद श्रेष्ठले कार्यक्रममा नयाँ प्रविधि र अवधारणाहरू प्रस्तुत गरिने जानकारी दिँदै सबैलाई सहभागी हुन आग्रह गरे।

कार्यक्रम संयोजक तथा वरिष्ठ उपाध्यक्ष विरबहादुर क्षेत्रीले विगतमा क्यान इन्फोटेक आयोजना हुँदै आएकोमा यस पटक फरक ढंगको कार्यक्रम ल्याइएको बताए। उनले अवलोकनकर्ताहरूलाई विश्व बजारमा प्रचलित प्रविधिबारे जानकारी दिनु यस कार्यक्रमको प्रमुख उद्देश्य रहेको उल्लेख गरे।

क्यान लुम्बिनी प्रदेश अध्यक्ष नारायण खनालका अनुसार यो इन्फोटेकको परिमार्जित रूप हो, जसमा आइटी अध्ययन गर्ने, यस क्षेत्रमा चासो राख्ने र नीति निर्माणमा संलग्न व्यक्तिहरूलाई सहभागी गराउने लक्ष्य राखिएको छ। साथै, प्रदेशका सबै जिल्लाहरूलाई समेट्दै यस्ता कार्यक्रमको आयोजना गरिने उनले जानकारी गराए।

क्यान महासंघ रूपन्देहीका सचिव सुरेशचन्द्र भट्टराईले यस कार्यक्रमलाई विशेष रूपमा आइटी अध्ययन गरेका विद्यार्थी र व्यवसायीहरूलाई लक्षित गरी आयोजना गरिएको बताए। उनले करिब ५ हजार अवलोकनकर्ताहरूले यस प्रदर्शनीमा सहभागिता जनाउने अपेक्षा गरिएको जानकारी दिए।

कार्यक्रममा सहभागी सबै अवलोकनकर्ताहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

 
 
  
 

You may also like