रौतहट। नेकपा (एस) का केन्द्रीय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको एयर रुटलाई लिएर अनावश्यक विवाद सिर्जना नगर्न भारत सरकारलाई आग्रह गरेका छन्।
नेपाल र भारतका पत्रकारहरूको संस्था मिडिया फर बोडर हार्मोनी ले रौतहट सदरमुकाम गौरमा आयोजना गरेको नेपाल-भारत मैत्री संवाद कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै उनले भारतले नेपालसँगको सम्बन्ध सुदृढ गर्न जनकपुरधाम–अयोध्या र लुम्बिनी–बोधगयाका लागि नयाँ एयर रुट निर्माण गर्नुपर्ने धारणा राखे।
उनले निजगढ विमानस्थल निर्माण नेपाल र भारत दुवैका जनताका लागि लाभदायक हुने भएकाले एयर रुटलाई लिएर अनावश्यक समस्या खडा नगर्न भारत सरकारलाई अनुरोध गरे। पूर्वप्रधानमन्त्री नेपालले आफू प्रधानमन्त्री रहेका बेला सन् २००९ मा निजगढ विमानस्थल निर्माण गर्ने निर्णय गरेको स्मरण गराउँदै, विमानस्थल निर्माणसँगै द्रुतमार्ग (फास्ट ट्र्याक) परियोजनालाई पनि तीव्रता दिन सरकारलाई ध्यानाकर्षण गराए।
कार्यक्रममा भारत बिहार विधानसभाका विधायक मोतीलाल प्रसाद, मधेस प्रदेशका सांसद नागेन्द्र साह, पूर्वमन्त्री योगेन्द्र यादव, बोदीमाई नगरपालिकाका प्रमुख प्रदीप कुमार यादव, पूर्वमेयर बसिर अन्सारी, नेकपा (एस) का नेता रेवन्त झा, लोसपाका नेता अनिल कुमार सिंहलगायतले नेपाल–भारत सीमा क्षेत्रमा जनताले भोगिरहेका समस्याहरू समाधानका लागि दुवै देशका सरकार, सांसद तथा जनप्रतिनिधिहरूले समन्वय गर्न आवश्यक रहेको औंल्याए।