काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सहकारीमा डुबेको पैसा राज्यको ढुकुटीबाट परिपूरण गर्न नसकिने बताएका छन् । आज (सोमबार) बसेको संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै घिमिरेले सहकारीको रकम अपचलन गर्नेहरूबाटै पीडितलाई परिपूरण दिने गरी सरकारले अध्यादेश ल्याएको पनि प्रष्ट पारे ।
‘सहकारीमा पैसा डुबेका व्यक्तिहरूको पैसा राज्यले परिपूरण गर्न गाह्रो छ । राज्य कोषमा त्यति सम्पत्ति छैन,’ उनले भने, ‘तर, जसले मास्यो, जसले खायो, जसले अपचलन गर्यो त्यसैबाट भराएर लिने भन्ने कुरा हो । त्यसैका लागि सहकारी ऐनमा संशोधन हुने गरी अध्यादेश आएको छ ।’
प्रमुख सचेतक घिमिरेले सात बुँदे सहमतिअनुसार नै कांग्रेस–एमाले गठबन्धन यो संसद्को पूरा अवधि रहने दाबी गरे । ‘सरकार चेञ्ज हुने कुनै सम्भावना छैन । यो कोलिसन संसद्को बाँकी अवधि पूरै चल्ने वाला छ । सात बुँदे सम्झौताअनुसार नै आफ्नो गतिमा अघि बढ्छ । त्यो सम्झौतालाई हुबहु कार्यान्वयन गर्दै त्यसैलाई मार्गनिर्देशक सिद्धान्तको रूपमा लिएर यो संसद् अवधिभर चल्छ ।’ उनले सरकार ढल्ने हल्लामा कुनै सत्यता नभएको स्पष्ट पारे ।
घिमिरेले सरकार एमालेसँग भएको सहमतिअनुसार २०८४ सम्म चल्ने दावी गरे । उनले रास्वपा सभापति रवि लामिछानेलाई सरकारले प्रतिशोध नराखेको पनि बताए । चितवनबाट पोखरा लगेको विषयमा नेता शेखर कोइरालाले कुरा उठाए पनि कानूनअनुसार नै अदालती धरौटीमा छुटेको उनको भनाइ छ ।