काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । हाल (सोमबार विहान) कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागको मौसम आंशिक बदली छ । तराईका धेरै भू–भागमा अहिले बाक्लो हुस्सु र कुहिरो लागिरहेको मौसम विज्ञान विभागले जनाएको छ ।
हुस्सु र कुहिरोको कारण तरा–मधेशको जनजीवन प्रभावित बनेको छ । विभागका अनुसार देशका बाँकी भेगको मौसम भने मुख्यतया सफा छ । चार प्रदेशको मौसम बदली भए पनि आज कतै पनि वर्षाको सम्भावना भने नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिनमा भनिएको छ, ‘बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।’
घट्यो काठमाडौंको न्यूनतम तापक्रम
काठमाडौंको न्यूनतम तापक्रम आइतबारको तुलनामा केही घटेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस मापन भएको छ ।
आइतबार न्यूनतम तापक्रम १८.१ डिग्री सेल्सियस मापन भएको थियो । आइतबारको तुलनामा काठमाडौंको आकाशमा बादल केही कम भएका कारण तापक्रम पनि केही घटेको महाशाखाले जनाएको छ । आइतबारदेखि अधिकतम तापक्रम पनि घट्न थालेको छ ।
केही दिनअघि काठमाडौंको अधिकतम तापक्रम २४.६ डिग्री सेल्सियस मापन भएकोमा आइतबार १८.४ डिग्री सेल्सियस मापन भएको थियो । आज अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ । काठमाडौंको दिउँसो आंशिक बदली रही घाम लाग्ने र बादल लाग्ने क्रम चलिरहने मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।