बुटवल।सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले रविलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न भनेको हो।
यसअघि, सहकारी ठगीकै आरोपमा कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ र काठमाडौँ जिल्ला अदालतले ६० लाख रुपैयाँ धरौटी लिएर उनलाई थुनाबाहिरै मुद्दा लड्न पाउने अवसर दिएको थियो।
रुपन्देही अदालतमा तीन दिनसम्म रविलाई थुनामा राख्ने वा बाहिरै बसेर मुद्दा लड्न दिनेबारे बहस चलेको थियो। आफूविरुद्ध ठगी र संगठित अपराधको आरोप लागेपछि रवि गएको बुधबार अदालतमा उपस्थित भएका थिए।
सुप्रिम सहकारी प्रकरणमा रविसहित २२ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। उनीहरूलाई सहकारीको ५५ करोडभन्दा धेरै रकम गैरकानुनी रूपमा अर्कै कम्पनीमा लगेर ठगी गरेको आरोप लागेको छ।
अदालतले सहकारीलाई भएको क्षति भराउने र प्रतिवादीहरूको सम्पत्तिमा रोक्का लगाउन आदेश माग गरेको छ। अब रविविरुद्ध चितवन र पर्सा जिल्ला अदालतमा अन्य सहकारी ठगीका मुद्दा चल्नेछन्।