गौतमबुद्ध विमानस्थलमा कुहिरोले उडान रोक्न नसक्ने: अर्थमन्त्री पौडेल

by समतल अनलाइन

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अब कुहिरोले पनि उडान प्रभावित गर्न नसक्ने दाबी गरेका छन् ।

शुक्रवार सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ब्रेक थ्रु गर्दै उपप्रधानमन्त्री पौडेलले यस्तो दाबी गरेका हुन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रिक्वायर्ड नेभिगेसन पर्फमेन्स अथोराइजेसन रिक्वायर्ड (आरएनपीएआर) प्रणाली बिहीबारदेखि लागू भएको थियो । उनले उक्त प्रणालीले कम भिजिबिलिटीमा उडान गर्न सक्ने बताएका हुन् ।

‘भैरहवामा ८०० भिजिविलिटी भएपनि उडान गर्न सक्नेगरी उपकरण जडान गरिएको छ । अब हामीले कुहिरोले पनि जहाज अवतरण र उड्नका निम्ति समस्या गर्दैन । हामीले संचालन गरेका र अगाडि बढाएका आयोजनाहरूका बारेमा प्रसंशा गर्न सकिन्न भने विरोध नहोस् भन्ने म आग्रह गर्न चाहन्छु,’ पौडेलले भने ।

भैहरवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा सरकारले अनेक आलोचनाको सामना गर्नुपरेको समेत उनको भनाइ थियो ।

आफूहरूले नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेको उल्लेख गर्दै चलाएर देखाउने दाबी गरे ।

‘समर्थनमा कसैले लेख्न सक्दैन भने विरोधमा लेख्न बन्द गरौं । कमी कमजोरी भए औंल्याउँ तर राम्रा कामलाई पनि नोटिसमा लिन सकौँ । हामीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनायौं,’ उनले भने, ‘त्यो विमानस्थल निर्माण गरिरहँदा हामीले अनेक आलोचनाहरूको सामना गर्नुपर्‍यो । आज त्यो गौतमबुद्ध विमानस्थल सञ्चालनको बिन्दुमा आइपुेको छ ।

 
 
  
 

You may also like