पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तारको शिलान्यास आज गरिंदैछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलको जितगढीमा आयोजना हुने विशेष समारोहका बीच सडक विस्तार कार्यको शिलान्यास गर्नेछन्। आज दिउँसो सिद्धबाबा सुरुङमार्ग छिचोल्ने कार्यक्रममा सहभागी भएपछि उनले सडक विस्तारको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ।
यो सडकखण्ड तत्कालीन राजा महेन्द्रको पालामा २०१९ सालमा निर्माण भएको थियो। ६२ वर्षपछि यसलाई स्तरोन्नति गर्दै शहरी क्षेत्रमा ५० मिटर, शहरोन्मुख क्षेत्रमा ३७.४ मिटर, र जंगल क्षेत्रमा २४ मिटर चौडा बनाउन लागिएको हो। हाल यो सडक दुई लेनको मात्र रहेको छ।
सडक विस्तारका क्रममा यात्रीहरूको कष्ट कम गर्न दुवै छेउका सडक निर्माण गरी मात्र बीचको भाग भत्काइने छ। आयोजना प्रमुख कुशलता न्यौपानेका अनुसार निर्माण सामग्री भण्डारण, रुख गणना, संरचना हटाउने, माटो परीक्षणजस्ता पूर्वतयारीका सबै काम सम्पन्न भइसकेका छन्।
आयोजनाका अनुसार ५० किलोमिटर लामो सडकलाई दुई चरणमा २५/२५ किलोमिटरका रूपमा विस्तार गरिनेछ। निर्माणका क्रममा करिब सात हजार रुख काटिने भए पनि आधुनिक प्रविधि र मापदण्डका साथ काम अघि बढाइने बताइएको छ।
सडकमा गाडीका लागि छ वटा ‘अन्डर पास’, पैदलयात्रुका लागि १२ वटा ‘अन्डर पास’, ११ वटा ओभरहेड ब्रिज, र वन्यजन्तुका लागि १९ वटा ‘अन्डर पास’ बनाइने छ।
यो परियोजना चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले ठेक्का पाएका छन्। ठेक्का रकम १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रूपैयाँ रहेको छ। पहिलो चरणका लागि ७ अर्ब ८९ करोड ४३ लाख र दोस्रो चरणका लागि ५ अर्ब ६६ करोड २२ लाख रूपैयाँ छुट्याइएको छ।
आयोजनाको लक्ष्य तीन वर्षभित्र सडक विस्तारको सम्पूर्ण कार्य सम्पन्न गर्ने रहेको छ।