नगेन्द्र केसी
शुद्धोदन। शुद्धोदन गाउँपालिका, मानपकडीको प्राङ्गणमा बोद्धिक अपाङ्गता भएका बालबालिका र बयस्कहरूका लागि न्यानो कपडा, पोषण आहार र सरसफाई सामाग्री वितरण कार्यक्रम बिहीबार एक समारोहबीच सम्पन्न भएको छ। यस कार्यक्रमको आयोजना सुस्तमनःस्थिती बाल बिद्या मन्दिर, बुटवलले र शुद्धोदन गाउँपालिका कार्यपालिकाले आर्थिक सहयोग गरेको थियो।
कार्यक्रमको उद्घाटन शुद्धोदन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको प्रमुख आतिथ्यतामा र सुस्तमनःस्थिती बाल बिद्या मन्दिरका कोषाध्यक्ष चन्द्रमान श्रेष्ठको अध्यक्षतामा भएको थियो। उद्घाटन गर्दै प्रमुख अतिथि बस्यालले शुद्धोदन गाउँपालिकामा बोद्धिक अपाङ्गता भएका बालबालिका र बयस्कहरूको हेरचाह गर्दै आएको कार्यलाई धन्यवाद दिए। उनले थपे, “हामी भविष्यमा यहाँका बोद्धिक अपाङ्गता भएका बालबालिकाहरूसँग सहकार्य गर्दै खेलमैदान र भवनको लागि पहल गर्ने प्रतिबद्धता जनाउँछौं।”
कार्यक्रममा ३६ जना बोद्धिक अपाङ्गता भएका बालबालिका र बयस्कहरूलाई ब्लाङ्गकेट, ट्रयाक सुट, चना, डाबर च्यवनप्राश, साबुन, कोलगेट, ब्रश लगायतका सामाग्री वितरण गरिएको जानकारी सुस्तमनःस्थिती बाल बिद्या मन्दिर, बुटवलका सचिव पिताम्वर खरेलले दिएका छन्।
कार्यक्रममा शुद्धोदन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवाली, वडा नं. २ का वडा अध्यक्ष कमल खड्का क्षेत्री, वडा नं. ४ का वडा अध्यक्ष र पालिका प्रवक्ता केशव प्रसाद अधिकारीले शुभकामना मन्तव्य दिनुभएको थियो। कार्यक्रमको संचालन सुस्तमनःस्थिती बाल बिद्या मन्दिर, बुटवलका प्रधानाध्यापक मिना भुसालले गर्नुभएको थियो।