बुटवलका मासु व्यवसायी बधशालामा जान सहमत, स्वच्छ मासु बिक्रीको प्रतिवद्धता

by समतल अनलाइन

बुटवल। बुटवल उपमहानगरपालिकाको लगानीमा निर्माण भएको बुटवल–१०, रामनगरस्थित पशु बधशालाबाट अब बुटवलका मासु व्यवसायीले मासु बिक्री गर्न सहमति जनाएका छन्। मासु व्यवसायीहरूले २५ बुँदे सम्झौतापछि बधशालामा उत्पादित स्वच्छ र सफा मासु विक्री गर्ने प्रतिवद्धता जनाएका हुन्।

पछिल्लो पाँच वर्षका लागि बधशाला सञ्चालनको टेन्डर पाएको मुक्तिनाथ लाइभस्टक बैंकले एक वर्ष बिताइसकेको छ। तर, बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिले टेन्डर नपाएको भन्दै व्यवसायीहरूले यसअघि बधशालाको मासु विक्री नगर्ने घोषणा गरेका थिए।

गत माघ ८ गते बुटवल उपमहानगरपालिका र मासु व्यवसायी संघ रुपन्देहीबीच भएको २५ बुँदे सम्झौताले समस्या समाधान गरेको हो। बिहीबार आयोजित कार्यक्रममा सम्झौतापत्र आदानप्रदान गरिएपछि व्यवसायीहरूले बधशालामा जाने निर्णय गरेका छन्।

सम्झौतामा उपमहानगरका प्रवक्ता तथा वडा नं. १५ का अध्यक्ष शिव राना र मासु व्यवसायी संघ रुपन्देहीका अध्यक्ष विशाल थापाले हस्ताक्षर गरेका छन्।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मासु व्यवसायीको यो निर्णयलाई सकारात्मक ठहर गर्दै नगरपालिकाले आगामी दिनमा सबै समस्याको समाधानमा सक्रियतापूर्वक लाग्ने बताए। उनले बधशालाको टेन्डर प्रक्रियाबारे विगतका समस्या स्पष्ट पार्दै अबदेखि नीति नियमअनुसार अघि बढ्ने प्रतिबद्धता जनाए।

उपप्रमुख सावित्रा देवी अर्यालले बधशालाबाट स्वच्छ मासु उत्पादनले बुटवल र लुम्बिनी प्रदेशका बासिन्दाका लागि मात्र होइन, विदेश निर्यातका लागि समेत सम्भावना थप्ने बताइन्। उनले बधशालाबाहेक अन्य स्थानबाट आएको मासु प्रयोगमा कडाइ गरिने र आवश्यक परे होटल तथा रेस्टुरेन्ट सिल गर्ने चेतावनी दिइन्।
मासु व्यवसायी संघका अध्यक्ष विशाल थापाले सम्झौताका बुँदाहरू पूर्ण कार्यान्वयनमा दुवै पक्ष सजग हुनुपर्ने बताए। उनले नगरपालिकाले राम्रो कामको प्रचार-प्रसार गर्नुपर्नेमा जोड दिए।

होटल तथा रेस्टुरेन्ट व्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारीले स्वच्छ र सफा मासु बिक्रीका लागि व्यवसायीहरू प्रतिवद्ध रहेको बताए। बुटवलको पशु बधशाला बुटवल उपमहानगरपालिका र प्रदेश सरकारको २३ करोडभन्दा बढीको लगानी तथा हेफर इन्टरनेशनल नेपालको चार करोडभन्दा बढीको प्राविधिक सहयोगमा निर्माण गरिएको हो।


 
 
  
 

You may also like