सैनामैनामा मंसिर १२ गतेदेखि अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगिता

by समतल अनलाइन
Shares

बुटवल।रुपन्देहीको सैनामैनामा आगामी मंसिर १२ गतेदेखि अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । स्थानीय दुधराक्ष युवा क्बलको आयोजनामा आगामी मंसिर १२ देखि १६ गतेसम्म आयोजना हुने प्रतियोगितामा विभिन्न १२ जिल्लाको सहभागिता रहने भएको छ ।

सैनामैना नगरको विकासमा अग्रसर रहेकी पुरानो बासिन्दा स्वर्गीय ढुण्डी थरुनीको स्मृतिमा सैनामैना–६ कलौनीमा ढुण्डी थरुनी स्मृति कप अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगिता २०८० हुने भएको हो ।

प्रतियोगिताका लागि सैनामैना नगरपालिका, प्रदेश खेलकुद परिषद् लुम्बिनी, रुपन्देही भलिबल संघ रुपन्देही, सैनामैना नगर खेलकुद समितिको सहयोग रहेको छ । प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ११ हजार १ सय ११ ट्रफि, प्रमाण, उपविजेताले नगद ७७ हजार ७ सय ७७ रुपैयाँ, ट्रफि, प्रमाणपत्र, तृतीय टिमले नगद ४४ हजार ४ सय ४४ रुपैयाँ, ट्रफि, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक विष्णु प्रसाद पाण्डेले बताए ।

यसैगरि सान्त्वना टिमले नगद २२ हजार २ सय २२ रुपैयाँ, ट्रफि प्रमाणपत्र, विधागत उत्कृष्ट खेलाडीहरुलाई नगद ७ हजार ७ सय ७७ रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार ५ सय ५५ रुपैयाबाट पुरस्कृत गरिने छ । क्लबका अध्यक्ष किरण पोखरेलले नेपालको राष्ट्रिय खेललाई प्रचारप्रसार र खेलाडीलाई प्लेटफर्म दिने उद्देश्यका साथ प्रतियोगिता गर्न लागेको बताए ।

प्रतियोगिताबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा सैनामैना नगरपालिकाका नगरप्रमुख फणेन्द्र शर्माले केन्द्र सरकारबाट विनियोजन हुने बजेट कम हुँदा आफ्नो पालिकामा खेलकुदको बजेट संकुचन गर्न परेको दुखेसो गर्दै क्लबबाट सैनामैनाको पहिचान हुने गरी आयोजना हुन लागेको प्रतियोगितालाई साथ र सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उपप्रमुख बिना रानाले नगरको खेल विकासमा आफू संस्थागत रुपमा लागेको बताए । कार्यक्रममा जिल्ला भलिबल संघ रुपन्देहीका अध्यक्ष सुरेन्द्र शाक्यले खेल विकासमा सरकारको लगानी न्यून हुँदा सोचेजस्तो सफलता हात पार्न नसकेको बताए। सैनामैना नगरपालिका वडा नं ७ का वडाध्यक्ष तथा खेल प्रेमी राजकुमार चौधरीले आफ्नो हजुरआमा ढुण्डी थरुनीको स्मृतिमा आयोजना गर्न लागेको प्रतियोगितालाई २ लाख रुपैयाँ सहयोग गरे । लुम्बिनी प्रदेश र अन्य जिल्ला गरी १२ टिमहरुले भाग लिने प्रतियोगिता सञ्चालन गर्न १६ लाख रुपैयाँ खर्च हुने आयोजक क्लबका सचिव पदम पाण्डेले बताए।

You may also like

This will close in 0 seconds