श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैंया तोक्न ज्ञापन

by समतल अनलाइन
Shares

बुटवल।नेपाल कारखाना श्रमिक संघ रुपन्देहीले श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैंया तोक्न माग गर्दै श्रम मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । नेपाल ट्रेड युनियन काँग्रेससँग आवद्ध कारखाना श्रमिक संघ रुपन्देहीले सोमबार श्रम तथा रोजगार कार्यालय बुटवल मार्फत श्रम मन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा सरकारी कार्यालयका सहयोगीको मासिक पारिश्रमिक २६ हजार रुपैंया रहँदा निजी क्षेत्रमा काम गर्ने मजदुरको न्यूनतम १५ हजार रुपैैयाँमा काम गर्नुपरेको र महंगीका कारण यसले गुजारा नै नचल्ने भएका कारण सामान्य जीवनयापनका लागि श्रमिकको मासिक न्यूनतम पारिश्रमिक २५ हजार रुपैंया तोक्न र प्रचलित कानूनले व्यवस्था गरेको समयावधी भित्र प्रकृया पुरा गरी व्यवहारिक कार्यान्वयनको पक्षलाई सुनिश्चित गर्न माग गरिएको छ ।

कारखाना मजदुर संघ रुपन्देहीकी अध्यक्ष कृष्णमाया रानाले ज्ञापन पत्र बुझाउँदै विद्यमान अवस्थामा दिइदै आएको पारीश्रमिकले श्रमजिवीलाई जिवनयापन गर्न पर्याप्त नभई रहेको र अर्को तर्फ नेपालको श्रम ऐन २०७४ मा व्यवस्था भए अनुरुप प्रत्येक २ वर्षमा त्रिपक्षीय सहमतिका आधारमा श्रमिकहरुको न्यूनतम पारीश्रमिक निर्धारण गरी समयमा नै लागु गर्नुपर्ने विषयमा नेपाल कारखाना श्रमिक संघ प्रतिवद्ध रहेको बताउनु भयो ।

असार मसान्त सम्ममा त्रिपक्षीय सहमतिको आधारमा न्यूनतम पारिश्रमिक निर्धारण गरी श्रावण १ गते देखी लागु गर्नुपर्नेमा सरकार, रोजगारदाता र ट्रेड यूनियन बिच पटक पटक छलफल हुँदा पनि सहमती हुन नसकेकोमा आफूहरुको गम्भिर ध्यानाकषर्ण भएको पनि उहाँले बताउनु भयो ।

नेपाल ट्रेड यूनियन कांग्रेस रुपन्देही, लुम्बिनी प्रदेश समिति र नेपाल ट्रेड युनियन काँग्रेस राष्ट्रिय समिति र नेपाल कारखाना श्रमिक संघ, राष्ट्रिय समितिलाई बोधार्थ दिईएको उक्त ज्ञापन पत्रमा अन्यथा यसबाट औद्योगिक सुमधुर सम्बन्धमा पर्न जाने असर प्रति सम्बन्धित पक्ष नै जिम्मेवार रहने चेतावनी दिईएको छ ।

You may also like

This will close in 0 seconds