हिजो पार्टीका लागि मर्न तयार हामी आज पद, पैसा र मन्त्री पाइनँ भनेर रुने भयौं : प्रचण्ड

by समतल अनलाइन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले पनि चन्द्रशेखर आजाद जस्तै सुसाइड गर्नुपर्ने हो कि भनेर चिन्ता व्यक्त गरेका छन् ।

अनेरास्ववियु (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भारतका क्रान्तिकारी चन्द्रशेखर आजादले आत्मसमर्पण नगरेर आजाद रहने भन्दै सुसाइड गरे जस्तै अवस्था आफ्नो हकमा पनि आउने हो कि भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
‘हिजो जनयुद्धमा घेरा हाल्ने र सखाप पार्ने रणनीति थियो । घेरा तोड्ने र प्रतिरोध गरेर परास्त गर्ने गर्‍यौं । अहिले फेरि त्यही प्रवृत्ति दोहोरियो’, उनले भने, ‘अहिले फेरि लडाइँ गर्ने कि छाडिदिने ? यति रहेछ भनेर रोकिने ?’

प्रचण्डले आफूले आत्मसमर्पण गर्न नसक्ने भन्दै कि लड्नु पर्ने कि सुसाइड गर्नुको विकल्प नभएको उल्लेख गरे । ‘भगत सिंहको फिल्ममा चन्द्रशेखरले लड्दै गर्दा चारैतिर घेरा हालिएको हुन्छ । प्रतिक्रियावादीले मार्ने नै भए भनेर चन्द्रशेखरले माटो समातेर मैले यति नै सकें आमा भनेर आत्महत्या गरे । झण्डै झण्डै मेरो अगाडि त्यही अवस्था छ’, उनले भने, ‘मैले आत्मसमर्पण गर्न सक्दिनँ । यत्रो शहीद, बेपत्ता परिवारको ऋण मेरो टाउकोमाथि छ । या त सक्दिनँ भनेर सुसाइड गर्नुप¥यो । सबै सुसाइड नकारात्मक हुँदैनन् है ! मार्क्सका छोरी–ज्वाइँले पनि सुसाइड गरेका थिए ।’

प्रचण्डले या सुसाइड रोज्नुपर्ने वा फेरि लड्नुपर्ने विकल्प बाँकी रहेको बताए । ‘या त फेरि लड्नु पर्छ । जोखिम उठाएर लड्ने, जेल जानुपर्छ वा मर्नुपर्छ भने पनि मर्ने । तर, कुनै हालतमा प्रतिक्रियावादी शक्तिका अगाडि नझुक्ने भनेर हामीले संघर्ष गर्नुपर्छ’, उनले भने, ‘क्रान्ति गरेको नेता अवसरवादी भएर मर्नुप¥यो भने पीडा हुन्छ ।’

क्रान्तिकारी चरित्रमा ह्रास

अध्यक्ष दाहालले माओवादीको क्रान्तिकारी चरित्रमा विस्तारै ह्रास आएको पनि बताए । ‘क्रान्ति, परिवर्तन र उत्पादनका निम्ति क्रान्तिकारी भएर काम गर्ने कुरामा स्खलन भएको छ । विस्तारै थाहा नपाईकन अरू दल जस्तै उस्तै उस्तै हुँदै जाने खतरा बढेको छ । पद, पैसा, कमिसनको निम्ति, दलाल, कमिसनखोरका हितका निम्ति बढी संवेदनशील हुने र घाइते अपांग, बेपत्ता परिवारलाई बिर्सिने प्रवृत्ति देखिएको छ’, उनले भने ।

जो जति माथि पुग्यो, त्यो त्यति अवरसरवादी देखिएको, जो जति धेरै मन्त्री बन्यो, त्यति नै अवसरवादी भएको भन्दै उनले आक्रोश पोखे । ‘जसलाई धेरै मन्त्री बनाए, त्यो पतन भयो । दलालसँग गयो, जनतासँग बिच्छेद भयो’, उनले भने, ‘हिजो पार्टीलाई सर्वस्व बुझाउने, सम्पत्ति बुझाउने, लड्न जान पाइएन भनेर रुने साथीहरू आज पद पाइनँ भनेर रुने, पैसा पाइनँ, मन्त्री पाइनँ भनेर रुने भयौं । थाहै नपाईकन क्रान्तिकारी विरासत गुमाउँदै छौं ।’

अध्यक्ष दाहालले अझै पनि पार्टीलाई क्रान्तिकारी रूपान्तरण गर्ने अवसर रहेको बताए । ‘कार्यकर्ता होइन, हामी नेता बिग्रेका छौं । अब आफै सच्चिनु पर्छ भनेर हिंडेका छौं । हामीले फेरि एक पटक समाजवादी क्रान्तिको लडाइँमा जाने निर्णय गरेका छौं । त्यसमा कार्यकर्ताले मनन गर्नुपर्छ । समाजवादी रूपान्तरण हुनुपर्छ । यो पार्टीलाई रूपान्तरण गर्न सम्भव छ । माओवादीलाई सायद यो देशमा अन्तिम अवसर छ क्रान्तिकारी पार्टी बनाउन रूपान्तरण गर्ने’, उनले भने, ‘सामाजवादी क्रान्ति र रूपान्तरणका लागि मैले हामफालें । तपाईंहरू के गर्नुहुन्छ ?’

११–१३ पुसमा राष्ट्रिय सम्मेलन गर्ने र मौलिक बाटो, आन्दोलनको पहिचान झल्किने, विरासत झल्किने बाटो तय गर्ने उनको भनाइ थियो । अनेरास्वियुका नेतालाई पनि केन्द्रीय समितिमा लैजाने र केन्द्रीय कमिटीमा कम्तीमा २० प्रतिशत युवा पुर्‍याउने उनले सुनाए ।

 

Shares

You may also like

skip


This will close in 5 seconds