माओवादी केन्द्रमा मन्त्री तोक्ने जिम्मा प्रचण्डलाई

by समतल अनलाइन
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीको नाम टुङ्गो लगाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नै दिएको छ । त्यसका लागि देउवासँग अध्यक्ष प्रचण्डले छलफल गर्ने छन् ।

बैठकपछि माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘देउवासँग छलफल गरेपछि ठोस निर्णय गर्छौं ।’ पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकले सरकारलाई कसलाई पठाउने भन्ने निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएको हो । सरकारको विषयमा कांग्रेससँग थप छलफल गर्ने निर्णय भएको छ, त्यसपछि मन्त्री तोक्न सकेसम्म अर्को स्थायी कमिटीको बैठक बोलाउने, नभ्याइए अध्यक्षले नै टुङ्गो लगाउने निर्णय भएको एक नेताले जानकारी दिए ।

बैठकले प्रतिनिधिसभा विघटन बदर गर्ने परमादेश दिने सर्वोच्च अदालतलाई धन्यवाद पनि दिएको छ । त्यसैगरी गठबन्धन सरकार सञ्चालनका विधि र प्रक्रियाबारे काँग्रेससँग थप छलफल गर्ने निर्णय समेत भएको छ ।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटन बदर गर्दै कांग्रेस सभापति देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सोही अनुसार राष्ट्रपतिले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरेकी छिन् भने आजै उनले सानो आकारको मन्त्रिपरिषद गठन गर्न लागेका छन् ।

You may also like