काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीन नेपाललाई कोरोनाविरुद्धको थप खोप दिन तयार रहेको बताएकी छिन् ।
चिनियाँ राजदूतावासले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा राजदूत होउले उत्पादनमा वृद्धि हुने वित्तिकै नेपाललाई थप खोप उपलब्ध गराउन चीन तयार रहेको जानकारी गराएकी हुन् । ‘चीनबाट १० वटा भ्याक्सिन निर्माण भएको छ । जसमध्ये २ वटाले विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त गरेको छ’, राजदूत होउले भनिन्, ‘खोप निर्माणको क्षमतामा वृद्धि हुने वित्तिकै बढी भन्दा बढी खोप नेपाललाई दिन तयार छौं ।’

सो सम्मेलनमा उनले डब्लुएचओले स्वीकृति प्रदान गरेको साइनो फर्माको खोप नेपाललाई यसअघि नै सहयोग गरेका छौं । ‘अनुदान सहयोगमा नेपाललाई १८ लाख खोप दिएका छौं । मैले थाहा पाएसम्म ४० लाख खोप नेपाल आउँदैछ र पहिलो खेप शुक्रबार नेपाल आयो’ उनले भनिन् ।
पत्रकार सम्मेलनमा उनले पहिलो चरण कोरोना महामारीको समयमा चीनलाई अफ्ठ्यारोमा पारेको बेला नेपालले गरेको सहयोग सहयोगलाई चिनियाँ जनताले सधै सम्झिएको बताएकी छिन् । पत्रकार सम्मेलनमा चिनियाँ राजदूतले चीनले विश्वका एक सयभन्दा बढी देशलाई खोप उपलब्ध गराएको बताइन् ।