एमाले एकता : कार्यदलमा भएको सहमति अनुमोदन गर्न एमालेको स्थायी कमिटी बैठक बस्दै

by समतल अनलाइन
Shares

काठमाडौं। पार्टी एकताका लागि कार्यदलले गरेको १० बुँदे सहमति अनुमोदन गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक आज (सोमबार) बस्दै छ । हिजोको लागि डाकिएको बैठक कार्यदलमा सहमति जुट्न ढिला भएपछि आजका लागि सारिएको हो । बैठक आज बेलुकी ५ बजे बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

स्थायी कमिटी बैठकअघि कार्यदलका सदस्यहरुले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता गराउने तयारी गरेका छन् । हिजो भएको सहमतिमा दुई शीर्ष नेताहरुलाई समझदारी गराउने तयारी रहेको कार्यदल सदस्यहरुको भनाइ छ ।

विगत केही समययता पार्टीभित्र देखापरेका असहज र असामान्य अन्तरविरोधले गर्दा देशभरिका पार्टी कार्यकर्ता र समर्थक–शुभेच्छुकहरू चिन्तित रहेकाले एकता अपरिहार्य रहेको कार्यदलको निष्कर्ष छ । दोस्रो तहका नेताहरुले गरेको सहमतिमा वरिष्ठ नेता माधवकुमार नेपालले भने असन्तुष्टि जनाएका छन् ।

सर्वोच्च अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्न खोजेको भन्दै उनले असन्तुष्टि जनाएका छन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको आफ्ना २३ सांसदको हस्ताक्षर कायमै रहेको स्पष्ट पारेका छन् । आज (सोमबार) नै प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा सर्वोच्च अदालतले फैसला सुनाउँदै छ ।

You may also like