काठमाडौं । प्रतिनिधिसभा विघटनपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई समूह आ–आफ्ना रणनीति बनाउन जुटेका छन् ।
संसद विघटनपछिको परिस्थितिबारे छलफल गर्न अहिले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट सांसदको बैठक राखेका छन् ।
बैठक आज (सोमबार) ९ बजे बिहान न भनिएको भए पनि सवा १० बजेतिर मात्र शुरु भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । बैठकमा को को छन् भन्नेबारे अहिले विस्तृत जानकारी प्राप्त भइसकेको स्रोतको भनाइ छ ।
यता नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आजै (सोमबार) दिउँसो १ बजे संसदीय दलको बैठक बोलाएको छ । त्यस्तै यो समूहले दिउँसो ३ बजे पार्टी स्थायी कमिटी बैठक समेत बोलाएको छ ।
ओलीको कदमविरुद्ध आजै कांग्रेस पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक बस्दैछ । आइतबार बेलुका कांग्रेस संसदीय दलको कार्यलयमा बसेको नेकपा, जसपा र कांग्रेस नेताको बैठकले आज अपरान्ह ४ बजे सर्वदलीय बैठक बसेर ओली कदमको शसक्त प्रतिवाद गर्ने योजना बनाउने तयारी गरेको छ ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो (आइतबार) दिउँसो संसद् विघटन गर्दै वैशाख १७ र २७ गतेलाई चुनाव समेत घोषणा गरेकी हुन् ।