सैनामैनामा रोपिए १० हजार चिउरीका विरुवा

सैनामैना । सैनामैना नगरपालिकामा मंगलबार १० हजार चिउरीका विरुवा रोपिएको छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै ३८ औँ स्मृति दिवसको उपलक्ष्यमा १० हजार चिउरीका विरुवा रोपिएको हो ।सार्वजनिक लेखा समितिका सभापति एवम् सांसद भरत कुमार शाहको प्रमुख आतिथ्यतामा नगरपालिकाको वडा नं ३ र ५ मा रहेको सामुदायिक बनमा विरुवा रोपी स्मृति दिवस मनाइएको हो ।

कार्यक्रममा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठको विशिष्ठ आतिथ्यता, सैनामैना उपप्रमुख विना राना, नेपाली कांङ्ग्रेसका जिल्ला उपसभापति फणिन्द्र प्रसाद शर्मा, कांग्रेसका नेता विष्णु प्रसाद पोखरेल, नेपाल कम्युनिष्ट पार्टी सैनामैनाका अध्यक्ष चेत नारायण न्यौपाने, नेपाली कांग्रेस सैनामैना नगरसभापति रामप्रसाद अधिकारी लगायतको आतिथ्यतामा बृक्षारोपण गरी दिवस मनाइएको हो । प्रमुख अतिथि शाहले विपीको फोटोमा माल्यापर्ण गर्दै वृक्षारोपण कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले वातावरण हराभरा गराउने र आर्यआर्जनमा पनि टेवा पु¥याउने उद्देश्यका साथ मंगलबार विपी स्मृति दिवसको अवसरमा १० हजार बिरुवा रोपिएको बताउनुभयो । यस खालका विरुवाहरु बर्षेनी लगाउने, विरुवा लगाएको ठाउँमा तारबार गर्ने, घेरालुहरु राख्ने र रोपेका सबै विरुवाहरु हुर्काउने र संरक्षण गर्ने ठोस प्रभावकारी कार्य योजना सहित बृक्षारोपणको कार्यक्रमलाई अगाडि बढाइएको नगर प्रमुख कार्कीको भनाइ छ ।

विपीको ३८ औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको हो । विपी विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो ।

बुधवार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवसको अवसरमा पनि १० हजार विरुवा रोपिने भएको छ । वडा नं ९ को सामुदायिक बन एवम् सेनाहरुकोे सैन्य तालिम केन्द्र सीमाभित्र रहेको चुरे पहाडमा विरुवा रोपी स्मृति दिवस मनाउने कार्यक्रम रहेको नगर प्रमुख चित्र बहादुर कार्कीले जानकारी दिनुभयो । बुधवार प्रदेश नं ५ का उद्योग वन, पर्यटन तथा वातावरण मन्त्री लिला गिरीको प्रमुख आतिथ्यतामा बृक्षारोपण गरिने छ ।

बृक्षारोपण कार्यक्रम नेपाली सेनाको कालिगढदल, राष्ट्रपति चुरे तराई मधेश कार्यक्रम बुटवल स्थित कलस्टर इकाई कार्यालय, डिभिजन बन कार्यालय रुपन्देही, पर्रोहा सामुदायिक बन, नेपाल कम्युनिष्ट पार्टी सैनामैना र नेपाली कांग्रेस सैनामैनाको सहकार्य र सहयोगमा विरुवा रोपिएको नगरपालिकाले जनाएको छ । आज विभिन्न संघ संस्था, टोल विकास संस्था, राजनितिक दल लगायत स्थानीयको सहभागितामा वृक्षारोपण गरिएको हो । कार्यक्रम जमुना थापाको स्वागत तथा सन्त कुमार चौधरीको संचालनमा सम्पन्न भएको हो ।
चिउरीका विरुवा राष्ट्रपति चुरे मधेश तराई विकास कार्यक्रम क्लस्टर इकाई कार्यालय बुटवलको सहयोगमा उपलब्ध भएको हो ।

 
 
  
 

You may also like