त्रिभुवन विश्वविद्यालयले १० दिनभित्र परीक्षाबारे निर्णय गर्ने

by समतल अनलाइन
145Shares

काठमाडौं ‌। लकडाउनका कारण यो वर्ष स्थगित गरिएको परीक्षाबारे त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी डेढ साताभित्र निर्णय गर्ने जनाएको छ। विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षाबारे डेढ साताभित्र निर्णय हुने जानकारी दिएका छन्‌। उनले भने, ‘परीक्षासम्बन्धी गठित समितिले अहिले छलफल गर्दै छ, अब डेढ हप्ताभित्रमा परीक्षा कहिले गराउने वा नगराउने विषयमा निर्णय हुन्छ।’

उनका अनुसार अनलाइनबाट परीक्षा गराउने भन्ने हल्ला बाहिर सुनिएपनि त्यसबारे अहिलेसम्म त्रिविले केही निर्णय गरको छैन। सेमेष्टर प्रणालीको परीक्षा आन्तरिक मुल्यांकनबाट गर्नेबारे पनि समितिले प्रतिवेदन दिने छ। त्यसको आधारमा निर्णय लिइने छ। उनले बाहिरका सबै विद्यार्थीहरु आएपछि मात्रै परीक्षा गराउने बताए। उनले भने, ‘तत्काल परीक्षा हुँदैन, पहिला सार्वजनिक यातायात चल्नु पर्‍यो,बाहिर रहेका सबै विद्यार्थीहरु आएपछि मात्रै परीक्षा सञ्चालन हुन्छ।’

त्रिविको शैक्षिक क्यालेन्डर अनुसार वैशाख १६ गते स्नातक चौथो वर्षको, जेठ १८ गतेदेखि स्नातक तेस्रो वर्षको, असार २४ गतेदेखि स्नातक दोस्रो वर्षको र भदौ ७ गतेदेखि स्नातक प्रथम वर्षको परीक्षा संचालन गर्ने मिति तोकिएको थियो। यस वर्ष स्नातकोत्तर प्रथम वर्षको परीक्षा चैत्र ७ गतेदेखि गर्न सबै तयारी समेत भइसकेको थियो। तर, कोरोना महामारीका कारण सबै परीक्षा स्थगित भएको हो। स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा माघ र प्रथम वर्षको चैत्रमा हुने गर्छ। स्थगित परीक्षाबारे अहिलेसम्म पनि केही निर्णय नहुँदा त्रिविका विद्यार्थीहरु अन्योलमा छन्। कतिपय विद्यार्थीहरुले परीक्षाको तयारी थालेका छन भने कतिपय विद्यार्थी परीक्षाको पर्खाइमा छन। अनलाइन माध्यमबाट परीक्षा गराउने हल्लाले गाउँ गएका विद्यार्थी झनै तनावमा परेका छन्‌।

Comments

You may also like

This will close in 0 seconds