आज देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

by समतल अनलाइन
32Shares

काठमाडौँ । देशभर पश्चिमी न्यूनचापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त मौसमी प्रणालीका कारण देशका विभिन्न भूभागमा वर्षा, मेघगर्जन, चट्याङ र हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार हाल देशका पहाडी तथा हिमाली भूभाग, मधेश प्रदेश र कोशी, बागमती तथा गण्डकी प्रदेशका तराई क्षेत्रमा साधारणतया बादल लागेको छ। अन्य भूभागमा भने आंशिक बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहने पूर्वानुमान छ। मधेश प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि साधारणतया बादल लाग्नेछ भने अन्य तराई क्षेत्रमा आंशिक बदली रहनेछ।

दिउँसो हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। मधेश प्रदेशसहित कोशी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

यसैगरी, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा कोशी प्रदेशको तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज राति पनि देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने बाँकी तराई भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

रातिको समयमा कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ।

त्यस्तै, कोशी प्रदेशको तराईका केही स्थान, मधेश प्रदेशका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।

महाशाखाका अनुसार कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना छ। सम्भावित वर्षा, चट्याङ, हावाहुरी र हिमपातलाई ध्यानमा राख्दै सम्बन्धित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

You may also like