बुटवलमा असोज २४ गते ‘समर लभ’को विशेष मञ्चन

by समतल अनलाइन
22Shares

बुटवल। चर्चित लेखक सुविन भट्टराईको उपन्यासमा आधारित नाटक ‘समर लभ’ बुटवलमा मञ्चन हुने भएको छ। काठमाडौँ र विराटनगरमा दर्शकको राम्रो प्रतिक्रिया पाएको नाटकलाई कान्तिपुर थिएटरले असोज २४ गते शनिबार बुटवलस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (BICC) मा प्रस्तुत गर्न लागेको हो।

बुटवलमा भने नाटकको मञ्चन एक दिन मात्रै हुनेछ। आयोजकका अनुसार शनिबार दिउँसो १२ बजे र साँझ ४ बजे गरी दुईवटा शो सञ्चालन हुनेछन्।

युवापुस्तामाझ लोकप्रिय अतीत र सायाको प्रेमकथालाई केन्द्रमा राखिएको ‘समर लभ’ले प्रेम, आकर्षण, सम्बन्ध, दूरी र बिछोडका भावनात्मक पक्षलाई रंगमञ्चमार्फत प्रस्तुत गर्छ। उपन्यास पढेका पाठकले आफूले कल्पना गरेका पात्र र घटनालाई प्रत्यक्ष रंगमञ्चमा अनुभव गर्न पाउने भएकाले नाटकप्रति दर्शकको चासो बढेको आयोजकको भनाइ छ।

काठमाडौँमा मञ्चनपछि विराटनगर पुगेको नाटकले त्यहाँ पनि उत्साहजनक दर्शकीय साथ पाएको थियो। सोही प्रतिक्रियाबाट उत्साहित हुँदै कान्तिपुर थिएटरले नाटकलाई राजधानीबाहिरका थप दर्शकमाझ पुर्‍याउने अभियानअन्तर्गत बुटवल ल्याउन लागेको हो।

कान्तिपुर फिल्म एकेडेमीअन्तर्गतको कान्तिपुर थिएटरले नेपाली रंगमञ्चलाई विभिन्न सहरका दर्शकमाझ पुर्‍याउने उद्देश्यले यसअघि पनि चर्चित कृतिमा आधारित नाटकहरू प्रस्तुत गर्दै आएको छ। अमर न्यौपानेको मदन पुरस्कारप्राप्त उपन्यास ‘सेतो धरती’ पनि कान्तिपुर थिएटरको चर्चित प्रस्तुतिमध्ये एक हो।

‘समर लभ’को नाट्य रूपान्तरण तथा निर्देशन सम्राट भुजेलले गरेका छन्। नाटकमा अर्पण थापा, सागर खनाल, बासना तिमिल्सिना, विनिता गिरी, ब्रबिम बस्नेत, रक्षा गौतम, सनम श्रेष्ठ र जानकी बजगाईं लगायत कलाकारको अभिनय रहेको छ। अनुभवी अभिनेता अर्पण थापाको सहभागिताले पनि नाटकप्रति दर्शकको आकर्षण थपिएको आयोजकको विश्वास छ।

बुटवलमा एक दिनमा दुईवटा शो मात्रै हुने भएकाले बुटवलसहित भैरहवा, तिलोत्तमा, सैनामैना तथा आसपासका क्षेत्रका दर्शकका लागि नाटक हेर्ने अवसर सीमित रहनेछ।

उपन्यासमार्फत अतीत र सायाको प्रेमकथा पढिसकेका पाठकदेखि नेपाली रंगमञ्चको नयाँ प्रस्तुति प्रत्यक्ष अनुभव गर्न चाहने दर्शकसम्मका लागि ‘समर लभ’को बुटवल मञ्चन विशेष अवसर बन्ने आयोजकले जनाएको छ। नाटकको टिकट तथा थप जानकारी कान्तिपुर थिएटरका आधिकारिक पेज र वेबसाइटमार्फत प्राप्त गर्न सकिनेछ।

You may also like