काठमाडौँ । रसुवामा आएको बाढीका कारण क्षतिग्रस्त जलविद्युत आयोजनाका सुरुङ तथा आसपासका क्षेत्रमा नेपाली सेनासहितको संयुक्त टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ।
रसुवागढी जलविद्युत आयोजनामा आयोजनाका प्रतिनिधि तथा विदेशी प्राविधिक सम्मिलित टोलीले सुरुङभित्र खोजी गरिरहेको छ। यस्तै, लाङ्टाङ जलविद्युत आयोजनामा पनि विदेशी प्राविधिकसहितको टोलीले ड्रोन प्रयोग गरी सुरुङभित्र खोजी गरेको छ। तर, हालसम्म कुनै व्यक्ति वा वस्तु फेला नपरेको जनाइएको छ।
चिलिमे जलविद्युत आयोजनामा डोजर र लोडर प्रयोग गरेर करिब १ सय मिटर क्षेत्रको भग्नावशेष हटाइएको छ। सुरुङभित्र पानी भेटिएपछि पानी हटाउने काम भइरहेको छ भने उद्धार टोलीले डोरीको सहायताले सुरुङभित्र प्रवेश गर्ने प्रयास गरिरहेको छ। खोला वारपार गर्न तुइनसमेत जडान गरिएको छ।
त्यसैगरी, माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा नेपाली सेना र आयोजनाका प्रतिनिधिले खोजी कार्य जारी राखेका छन्। त्रिशूली–३ ए आयोजनाको विद्युत् गृह तथा सुरुङ क्षेत्रमा पनि संयुक्त टोलीले खोजी गरिरहेको छ।
त्रिशूली–३ बी आयोजनामा नेपाली सेनासहितको संयुक्त टोलीले डोजर तथा पछाडि खन्ने यन्त्र प्रयोग गरी आवास गृह, कार्यालय भवन र सुरुङ क्षेत्रमा खोजी गरिरहेको नेपाली सेनाले जनाएको छ। हाल टोलीले विद्युत् गृह क्षेत्रलाई प्राथमिकतामा राखेर खोजी गरिरहेको छ।

