आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

by समतल अनलाइन
37Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको महाशाखाले जनाएको छ।

हाल देशभर सामान्यतया बदली रहेको छ। कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। यस्तै, पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।

कोशी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भाग, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भाग तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

तराईका थोरै स्थानमा समेत मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। कोशी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

भारी वर्षा हुने सम्भावित क्षेत्रमा बाढी, डुबान तथा पहिरोको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

You may also like