भोटेकोशी बाढीको १७औँ दिन : सेनाद्वारा थप ३० जनाको हवाई उद्धार

by समतल अनलाइन
8Shares

काठमाडौं । भोटेकोशी बाढी आएको १७औँ दिन नेपाली सेनाले शुक्रबार थप ३० जनाको हवाई उद्धार गरेको छ। यससँगै बाढीपछि सेनाले हवाई माध्यमबाट उद्धार गरेका व्यक्तिको संख्या ४ हजार १३७ पुगेको सैनिक मुख्यालयले जनाएको छ।

बाढीका कारण प्रभावित तथा बेपत्ता व्यक्तिको खोजी तथा उद्धार कार्यलाई सेनाले निरन्तरता दिएको छ। रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा कम्पोजिट क्विक रियाक्सन टिम र विदेशी टोलीसहित संयुक्त रूपमा खोज तथा उद्धार भइरहेको सेनाले जनाएको छ।

लाङटाङ हाइड्रोको सुरुङभित्र पनि खोजी जारी छ। चिलिमे हाइड्रोमा विदेशी टोलीसहितको संयुक्त टोलीले सुरुङमा जमेको लेदो हटाउने काम गरिरहेको छ। सेनाका अनुसार चिलिमे सुरुङसम्म हेभी इक्विपमेन्ट पुर्‍याउन आवश्यक बाटो निर्माणसमेत पूरा भएको छ।

त्यस्तै, माथिल्लो त्रिशूली–१ को हाकुबेशीस्थित अडिट–१ सुरुङमा करिब २०० मिटर क्षेत्र ड्रोनमार्फत रेकी गरी खोजी भइरहेको छ। हालसम्म उक्त क्षेत्रमा कुनै व्यक्ति वा शव फेला नपरेको सेनाले जनाएको छ।

त्रिशूली–३ ए को पावरहाउस तथा सुरुङ र त्रिशूली–३ बी क्षेत्रमा पनि संयुक्त टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ।

सेनाले रसुवा र नुवाकोटका त्रिशूलीपारि कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङलगायतका क्षेत्रमा पैदल गस्तीमार्फत बेपत्ताको खोजी गरिरहेको जनाएको छ।

स्वास्थ्य उपचार पनि जारी

उद्धारसँगै बाढी प्रभावितको स्वास्थ्य उपचारलाई पनि सेनाले निरन्तरता दिएको छ। स्याफ्रुबेँसी होल्डिङ सेन्टरमा सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट शुक्रबार ५४ जनाले स्वास्थ्य सेवा लिएका छन्।

धुञ्चेस्थित आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट थप ८५ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। सेनाका अनुसार धुञ्चेबाट हालसम्म ३ हजार ६६५ जनाले स्वास्थ्य सेवा लिइसकेका छन्।

भोटेकोशी बाढीपछि रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन हुँदै नवलपरासी पूर्वसम्म ८ हजार ७ सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालन गरिएको छ।

सेनाका टोलीले घाइते तथा प्रभावितको खोज तथा उद्धार, शव व्यवस्थापन, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारलगायतका कार्यलाई निरन्तरता दिइरहेका छन्।

You may also like