शुक्रबार देशभर बदली, विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

by समतल अनलाइन
42Shares

देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले शुक्रबार अधिकांश स्थानमा मौसम बदली रहने तथा विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको छ। यसको प्रभावले शुक्रबार देशका अधिकांश भू–भागमा बदली रहने अनुमान गरिएको हो।

शुक्रबार दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

त्यस्तै, मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

मधेश तथा कोशी र लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै स्थानमा हावाहुरी चल्न सक्ने सम्भावना पनि रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

शुक्रबार राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।

मधेश तथा कोशी प्रदेशका तराई भू–भागका केही स्थान र बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार राति बागमती र गण्डकी प्रदेशका पहाडी भू–भाग तथा लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ।

You may also like