आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

by समतल अनलाइन
35Shares

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ। जसका कारण देशका अधिकांश भू-भागमा बदलीसँगै वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार हाल देशभर सामान्यतया बादल लागेको अवस्था छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो पनि देशभर सामान्यतया बादल लाग्ने पूर्वानुमान गरिएको छ। देशको हिमाली भू-भागका केही स्थान तथा पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।

महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भाग, कर्णाली प्रदेशको पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

यस्तै, आज राति पनि देशभर सामान्यतया बादल लाग्ने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ।

रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ।

यसैगरी, मधेश प्रदेश र कोशी प्रदेशका तराई भू-भागका धेरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भाग तथा कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

मनसुनी गतिविधि सक्रिय रहेकाले वर्षाका कारण नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरोको जोखिम बढ्न सक्ने तथा सडक यातायातमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

You may also like