भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङमा उद्धार कार्य तीव्र

by समतल अनलाइन
31Shares

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा विद्युत् गृह क्षेत्रमा फसेकाहरूको खोज तथा उद्धार कार्य आज पनि जारी रह्यो।

नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा विज्ञसहितको संयुक्त टोलीले रसुवागढी, त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’, चिलिमे र माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा खोज तथा उद्धार गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

रसुवागढीमा छैटौँ तलासम्म खोजी
रसुवागढी जलविद्युत् आयोजनामा खटिएको संयुक्त उद्धार टोलीले विद्युत् गृहको छैटौँ तलासम्म पुगेर खोजी गरेको छ। हालसम्म केही फेला नपरे पनि पाँचौँ तलासम्म लेदोले भरिएको हुँदा टोलीले थप खोजी कार्य जारी राखेको सेनाले जनाएको छ।

त्रिशूली–३ ‘ए’ मा ९३ जनाको टोली
त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि नेपाली सेनाका ७५, सशस्त्र प्रहरीका १८ तथा नेपाल प्रहरी र विज्ञसहितको संयुक्त टोली परिचालन गरिएको छ। टोलीले सुरुङभित्र खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको छ।

त्रिशूली–३ ‘बी’ आयोजनामा भने नेपाली सेनाका ८९, गैरसैनिक तीन जना र आयोजनाका प्रबन्ध निर्देशकसहितको टोलीले खोजी गरिरहेको छ। टोलीले तीन वटा साना डोजर र जेनेरेटरको प्रयोग गरिरहेको छ।

सेनाका अनुसार अडिट–२ टनेलबाट एक्साभेटर लैजान सक्ने गरी बाटोसमेत सफा गरिएको छ।

चिलिमेमा १०५ मिटरभित्र खोजी
चिलिमे जलविद्युत् आयोजनामा विदेशी विशेषज्ञसहितको संयुक्त टोलीले मिनी एक्साभेटर र पम्पको सहायताले लेदो हटाउँदै सुरुङभित्र १०५ मिटरसम्म खोजी गरेको छ। त्यस क्षेत्रभन्दा थप भित्र पुगेर खोजी गर्ने काम भइरहेको सेनाले जनाएको छ।

माथिल्लो त्रिशूली–१ बाट चिनियाँ नागरिकको जीवितै उद्धार
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको हाकुस्थित सुरुङबाट चिनियाँ नागरिक लु हाइताओको जीवितै उद्धार गरिएको छ।

सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार संयुक्त उद्धार टोलीले सुरुङभित्र करिब २५० मिटरको दूरीबाट लु हाइताओलाई जीवितै उद्धार गरेको हो। सोही क्षेत्रबाट थप दुई शवसमेत निकालिएको छ।

सुरुङमा जम्मा भएको लेदो हटाउँदै थप खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको सेनाले जनाएको छ।

देवीघाटमा ‘एक्रो ब्रिज’ जडान हुँदै
बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित ताँदी नदीमा नेपाली सेनाले ‘एक्रो ब्रिज’ जडान गरिरहेको छ। पुल जडानका लागि सेनाको इन्जिनियरिङ फौजका ५५ जना परिचालन भएका छन्।

यसैगरी, बाढी प्रभावित मैलुङदेखि स्याफ्रूबेंसीसम्म पैदल गस्तीमार्फत खोज तथा उद्धार कार्य जारी राखिएको सेनाले जनाएको छ।

सैनिक हेलिकोप्टरमार्फत आज प्रभावित क्षेत्रबाट दुई विदेशी नागरिकसहित ३९ जनाको उद्धार गरिएको छ। सेनाका अनुसार हालसम्म हवाई साधनमार्फत २७५ विदेशी नागरिकसहित ३ हजार ९९७ जनाको उद्धार गरिएको छ।

तीन हजारभन्दा बढीलाई स्वास्थ्य सेवा
नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलमार्फत आज ३१ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ। हालसम्म यी स्वास्थ्य केन्द्रबाट ३ हजार २९७ जनाले स्वास्थ्य सेवा लिइसकेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्म ९ हजार ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

परिचालित टोलीले घाइते तथा बेपत्ताको खोज तथा उद्धार, शव व्यवस्थापन, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन स्वास्थ्य सेवासहितका काम गरिरहेको सेनाले जनाएको छ।

You may also like