‘हिमालयन चितुवा’ अविरल घिमिरेको ऐतिहासिक जित, विश्व च्याम्पियन चोइनार्ड नकआउट

by समतल अनलाइन
41Shares

काठमाडौं । नेपाली युवा किक बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ले अन्तर्राष्ट्रिय किक बक्सिङमा अर्को ऐतिहासिक सफलता हात पारेका छन्।

जापानको नागोया सहरस्थित करिया हलमा आज साँझ सम्पन्न ‘हिट किक बक्सिङ–५९ अन्तर्राष्ट्रिय खेलकुद किक बक्सिङ महासंघ विश्व च्याम्पियनसिप’ अन्तर्गतको मेन इभेन्टमा घिमिरेले फ्रान्सका बक्सर माथन चोइनार्डलाई नकआउट गर्दै जित हासिल गरेका हुन्। चोइनार्ड सन् २०२५ का विश्व च्याम्पियन खेलाडी हुन्।

घिमिरेले खेलको दोस्रो राउण्डको दोस्रो मिनेटमा शक्तिशाली मुक्का प्रहार गर्दै चोइनार्डलाई नकआउट गरेका थिए। यससँगै उनले आफ्नो अन्तर्राष्ट्रिय करियरमा अर्को महत्वपूर्ण उपलब्धि थपेका छन्।

हालसम्म २९ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका घिमिरेले २१ खेलमा जित हासिल गरेका छन्। तीमध्ये २० खेलमा उनले प्रतिद्वन्द्वीलाई नकआउट गर्दै विजय प्राप्त गरेका छन्।

किक बक्सिङमार्फत नेपालको पहिचान अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउँदै आएका घिमिरे नेपाली खेलकुदका चम्किला प्रतिभाका रूपमा स्थापित हुँदै गएका छन्।

ऐतिहासिक जितपछि घिमिरेले हालै रसुवाको भोटेकोशी बाढीबाट भएको जनधनको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै बाढीपीडितलाई सहयोग गर्ने बताएका छन्। उनले आफ्नो खेल यात्रामा साथ, सहयोग र हौसला प्रदान गर्ने सबैप्रति धन्यवादसमेत व्यक्त गरेका छन्।

You may also like