बुटवल । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको पीडामा साथ दिन बुटवलमा रहेको सामाजिक संस्था पहिलो पाइला बुटवलले राहत सामग्री पठाएको छ।
बाढीका कारण प्रभावित क्षेत्रमा दैनिक उपभोग्य वस्तुदेखि स्वास्थ्य सामग्रीसम्मको आवश्यकता बढिरहेका बेला पहिलो पाइला बुटवलले खाद्यान्न, औषधि लगायतका अत्यावश्यक सामग्री संकलन गरी प्रभावित क्षेत्रतर्फ पठाएको हो।
पहिलो पाइला बुटवलका अध्यक्ष गौरव खनालका अनुसार बाढी प्रभावित नागरिकलाई तत्काल आवश्यक पर्ने सामग्रीलाई प्राथमिकतामा राखेर राहत पठाइएको हो। विपद्को समयमा पीडित परिवारलाई केही भए पनि सहज होस् भन्ने उद्देश्यले संस्था आफ्नै पहलमा राहत सामग्री व्यवस्थापन गरी पठाएको अध्यक्ष खनालले जानकारी दिए।
बाढीले घर, व्यवसाय, सडक तथा अन्य भौतिक संरचनामा क्षति पुर्याउनुका साथै धेरै परिवारलाई विस्थापित बनाएको अवस्थामा राहत र उद्धारका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको छ। यही मानवीय प्रयासमा पहिलो पाइला बुटवल पनि जोडिएको हो।
संस्थाले विपद्को समयमा सहयोग केवल राहत सामग्री पठाउने काममा सीमित नराखी प्रभावित नागरिकको आवश्यकता र अवस्थाअनुसार आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने जनाएको छ।
भोटेकोशीको बाढीले निम्त्याएको विपत्तिबीच बुटवलबाट पठाइएको यो सहयोगले प्रभावित परिवारलाई तत्काल आवश्यक सामग्रीको जोहो गर्न केही राहत पुग्ने अपेक्षा गरिएको छ।

