आवास ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख १ हजार सहयोग

by समतल अनलाइन
40Shares

बुटवल। रुपन्देहीमा व्यवसाय सञ्चालन गर्दै आएको आवास ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख १ हजार १ सय ५१ रुपैयाँ सहयोग गरेको छ । देशले दुःखद् विपद्को सामना गरिरहेका बेला सामाजिक उत्तरदायित्व र मानवीय संवेदनालाई आत्मसात् गर्दै ग्रुपले उक्त रकम सहयोग गरेको हो ।

ग्रुपका प्रबन्ध निर्देशक महेश थैवले विपद्का कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै, विपद्बाट प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको बताएका छन् ।

आवास ग्रुपले विगतदेखि नै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक तथा मानवीय कार्यमा योगदान गर्दै आएको जनाएको छ । उद्योग तथा व्यवसाय सञ्चालनसँगै सामाजिक सेवामा समेत आफ्नो दायित्व निर्वाह गर्दै आएको ग्रुपले आगामी दिनमा पनि आवश्यकताअनुसार सहयोगलाई निरन्तरता दिने जनाएको छ ।

आवास ग्रुपअन्तर्गत निर्माण सामग्री, फर्निचर, पाइप फिटिङ, हेल्मेट, पेय पदार्थलगायत विभिन्न क्षेत्रमा १७ वटा उद्योग सञ्चालनमा रहेका छन् । आवास फर्निचर, लक्ष्मी स्टिल, ज्याकोर इन्डष्ट्रिज प्रालि, सन फिटिङ प्रालि, शुभलक्ष्मी पोलिमर, एभरेष्ट फुड र मयुर स्टिललगायतका उद्योगहरू ग्रुपअन्तर्गत सञ्चालनमा छन् ।

ग्रुपले विपद्को समयमा उद्योगी व्यवसायी तथा निजी क्षेत्रले पनि आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै प्रभावित नागरिकको राहत र उद्धारमा योगदान गर्नुपर्नेमा जोड दिएको छ ।

You may also like