गरिमा चौधरीको हत्याको विरोधमा बुटवलमा विद्यार्थीको प्रदर्शन, ‘बालबालिकाको सुरक्षा गर’ भन्दै उठ्यो आवाज

by समतल अनलाइन
19Shares

बुटवल, भदौ ७ । बारा जिल्लामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको घटनाको विरोधमा बुटवलमा विद्यार्थीहरूले विरोध र्‍याली निकालेका छन्। इन्टलेक्च्युअल एकेडेमी बुटवल–११, कालिकानगरका विद्यार्थीहरूले बालबालिकाको सुरक्षा र घटनामा संलग्न दोषीलाई हदैसम्मको कानुनी कारबाहीको माग गर्दै आइतबार विरोध र्‍याली गरेका हुन्।

‘गरिमा चौधरीलाई न्याय देऊ, हरेक बालिकालाई सुरक्षित जीवन देऊ’ भन्ने नारासहित निकालिएको र्‍यालीमा विद्यार्थीहरूले विभिन्न प्लेकार्ड बोकेर बालिका तथा बालबालिकामाथि हुने हिंसा अन्त्य गर्न माग गरेका थिए। विद्यार्थीहरूले ‘गरिमा चौधरीलाई न्याय देऊ, बालबालिकाको सुरक्षा गर’, ‘बालिका बचाऔँ, भविष्य बचाऔँ’, ‘बालिकामाथि हिंसा बन्द गर’, ‘दोषीलाई उन्मुक्ति होइन, कानुनी कारबाही चाहिन्छ’, ‘बालअधिकारको सम्मान गर, हिंसामुक्त समाज निर्माण गर’, ‘छोरीलाई माया होइन, सुरक्षा देऊ’ र ‘बालिकामाथिको हिंसा समाजमाथिकै कलंक’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

विद्यालय क्षेत्रबाट सुरु भएको र्‍याली भुवनसिङ मार्ग हुँदै देविनगर, देवसिद्धचोक, पश्चिम सिद्धनगर, बिहानीपथलगायतका क्षेत्रको परिक्रमा गरी पुनः विद्यालय क्षेत्रमा पुगेर समापन गरिएको थियो। कार्यक्रममा कक्षा ६ देखि १० सम्मका विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको थियो।

इन्टलेक्च्युअल बाल क्लबको आयोजनामा भएको कार्यक्रममा बालबालिकामाथि हुने हिंसा र दुर्व्यवहारविरुद्ध सामाजिक चेतना फैलाउँदै बालबालिकालाई सुरक्षित वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइएको थियो। र्‍याली समापन गर्दै बालबालिकाको सुरक्षासँगै समाजमा जनचेतना जगाउने उद्देश्यले विरोध कार्यक्रम आयोजना गरिएको बाल क्लबकी अध्यक्ष सिमरन बस्यालले बताइन्।

उनले बालबालिकामाथि हुने हिंसा, बलात्कार तथा हत्याजस्ता जघन्य घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्नुपर्ने र बालबालिकाको सुरक्षित भविष्यका लागि परिवार, विद्यालय, समुदाय तथा राज्य सबै जिम्मेवार बन्नुपर्ने बताइन्।

You may also like