रुपन्देही ट्रेनिङ इन्स्टिच्युट आठौँ वर्ष प्रवेश : सय युवालाई निःशुल्क सीपमूलक तालिम दिने घोषणा

by समतल अनलाइन
52Shares

बुटवल । रुपन्देही ट्रेनिङ इन्स्टिच्युट (आरटीआई) बुटवलले सात वर्ष पूरा गरी आठौँ वर्षमा प्रवेश गरेको अवसरमा सय जना युवालाई निःशुल्क सीपमूलक तालिम प्रदान गर्ने घोषणा गरेको छ। संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत रोजगारी तथा स्वरोजगारसँग जोडिने व्यवहारिक तालिम उपलब्ध गराउने जनाएको हो।

आठौँ वर्ष प्रवेशका अवसरमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका सञ्चालक सागर पाण्डेले ‘आरटीआई सीएसआर इनिसिएटिभ २०२६’ कार्यक्रममार्फत अवसरबाट वञ्चित युवालाई सीपसँग जोड्न अभियान सुरु गरिएको बताए।

उनले सात वर्षको अवधिमा विद्यार्थी, अभिभावक तथा समाजबाट प्राप्त विश्वासलाई सामाजिक उत्तरदायित्वमार्फत फर्काउने उद्देश्यले कार्यक्रम ल्याइएको बताए। उनका अनुसार सहभागीको रुचि, आवश्यकता, योग्यता र क्षमताका आधारमा आरटीआईमा उपलब्ध रोजगारमूलक तालिममध्ये उपयुक्त तालिम छनोट गरिनेछ। तालिमका लागि सहभागीबाट कुनै शुल्क नलिइने संस्थाले जनाएको छ।

संस्थाकी सञ्चालक पूर्णिमा भुसाल पाण्डेले अभियानको उद्देश्य केवल निःशुल्क प्रमाणपत्र वितरण गर्नु नभई युवालाई व्यवहारिक सीप प्रदान गरी रोजगारी, स्वरोजगार र उद्यमशीलताको अवसर सिर्जना गर्नु रहेको बताइन्।

आर्थिक तथा अन्य कारणले सीप सिक्ने अवसरबाट वञ्चित भएका तर केही गर्ने चाहना र क्षमता भएका युवालाई कार्यक्रमको प्राथमिकतामा राखिने उनले बताइन्। रोजगार बजारको मागलाई ध्यानमा राख्दै उपयोगी र व्यवहारिक सीप विकासमा संस्थाले जोड दिने उनको भनाइ छ।

सञ्चालक सागर पाण्डेले आठौँ वर्षको यात्रा संस्थाको विस्तारमा मात्र सीमित नरहने भन्दै सीप, रोजगारी र अवसरमार्फत समाजमा योगदान पुर्‍याउने लक्ष्य रहेको बताए।

‘सय युवा, सय अवसर’को अवधारणासहित अघि बढाइएको अभियानले अवसरको खोजीमा रहेका युवालाई आवश्यक सीपसँग जोडेर उनीहरूको भविष्यमा सकारात्मक परिवर्तन ल्याउने विश्वास संस्थाले व्यक्त गरेको छ।

You may also like