बुटवल । लियो क्लब अफ बुटवलको नयाँ कार्यसमिति चयन भएको छ। क्लबको स्वर्ण जयन्तीका अवसरमा आयोजित धन्यवाद ज्ञापन, पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोहमा नयाँ कार्यसमिति घोषणा गरिएको हो।
क्लबको अध्यक्षमा लक्ष्मण खनाल, उपाध्यक्षमा कविराज भुषाल, सचिवमा कुशल पाण्डे र कोषाध्यक्षमा विशाल खनाल चयन भएका छन्। त्यस्तै लायन्स समन्वयकर्तामा मनोज पाण्डे र सदस्यता संयोजकमा अरुणा पछाई चयन भएका छन्।
समारोहका प्रमुख अतिथि पूर्व लायन्स प्रधान पुरुषोत्तम प्रधानाङ्गले लियो क्लब युवाको नेतृत्व विकाससँगै सामाजिक सेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएको भन्दै आगामी दिनमा पनि सेवामूलक गतिविधिलाई निरन्तरता दिनुपर्ने बताए। उनले युवाको ऊर्जा र क्षमतालाई समाज परिवर्तनमा उपयोग गर्नुपर्नेमा जोड दिए।
विशिष्ट अतिथिका रूपमा लियो जिल्ला परिषद् ३२५ पी नेपालका अध्यक्ष लियो सुस्मा बश्याल सहभागी थिइन्। कार्यक्रममा रुद्रगण धार्मिक सस्थाका परिकल्पनाकार लम्बु सरकार लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा क्लबको स्थापनादेखि हालसम्मका गतिविधि तथा सामाजिक सेवामा पुर्याएको योगदानको स्मरण गर्दै संस्थालाई विभिन्न समयमा योगदान दिएका व्यक्तिहरूलाई सम्मान गरिएको थियो। पूर्व अध्यक्ष गोकुल भण्डारी लगायतले क्लबको विकास र सामाजिक सेवामा पुर्याएको योगदानको चर्चा गर्दै शुभकामना व्यक्त गरेका थिए।

