सुशासन सरकारको प्राथमिकता, राजनीतिक भ्रष्टाचार शून्य : सांसद खरेल

by समतल अनलाइन
33Shares

बुटवल।प्रतिनिधिसभा सदस्य सुलभ खरेलले वर्तमान सरकारले सुशासनलाई केन्द्रमा राखेर काम गरिरहेको दाबी गरेका छन्। उनले राजनीतिक तहमा हुने भ्रष्टाचार शून्य रहेको समेत बताएका छन्।

रुपन्देही निर्वाचन क्षेत्र नं. २ का सांसद खरेलले बुधबार सैनामैना नगरपालिका–१, २, ३ र ४ तथा बुटवल उपमहानगरपालिका–३, ४, ५, ६, ७ र ८ मा आयोजित जनभेटघाट तथा सुझाव संकलन कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।

बुटवल–३ मा आयोजित कार्यक्रममा उनले सरकार गठन भएको एक सय दिनको अवधिमा कुनै गलत नियत नराखी काम भइरहेको उल्लेख गरे। कर्मचारीतन्त्र र न्यायिक क्षेत्रमा भ्रष्टाचार नियन्त्रणको विषयमा मूल्याङ्कन गर्न अझै समय लाग्ने भए पनि राजनीतिक नेतृत्वमा हुने भ्रष्टाचार नियन्त्रणमा सरकार सफल भएको उनको दाबी थियो।

सांसद खरेलले अव्यवस्थित बसोबासी र सुकुम्बासीको समस्या समाधानका लागि राजनीतिक प्रभावभन्दा बाहिर रही जिल्ला प्रशासनमार्फत योजनाबद्ध रूपमा काम अघि बढाइएको बताए। सहकारी पीडितको बचत फिर्ताका लागि चक्रीय कोषमार्फत रकम वितरण भइरहेको र हालसम्म करिब दुई हजार बचतकर्ताले रकम फिर्ता पाइसकेको जानकारी पनि उनले दिए। यद्यपि सहकारी क्षेत्रको सुधारप्रति सरकार अझै पूर्ण रूपमा सन्तुष्ट नरहेको उनले स्वीकार गरे।

विकास निर्माणमा हुने ढिलासुस्ती र लापरवाही रोक्न सार्वजनिक खरिद ऐन संशोधन गरिएको तथा अत्यधिक न्यून दरमा ठेक्का हाल्ने प्रवृत्ति नियन्त्रणका लागि नयाँ व्यवस्था लागू गरिएको उनले बताए। निर्वाचनका क्रममा गरेका प्रतिबद्धता संघीय सरकारमार्फत पूरा गर्ने उनको भनाइ थियो।

कार्यक्रममा बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष विष्णु ढकालले संघीय सरकारको सहयोगमा वडामा विभिन्न विकास आयोजना अघि बढेको बताए। वडाका १३ वटा टोल विकास संस्थाका प्रतिनिधिले पहिरो नियन्त्रण, तिनाउ नदी तटबन्धन, अव्यवस्थित बसोबासी व्यवस्थापन, पर्यटकीय स्थल विकास तथा वृद्धभत्ता वृद्धि लगायतका विषयमा संघीय सरकारको ध्यानाकर्षण गराएका थिए।

कार्यक्रममा वडा सचिव अशोक पाण्डे, वडा सदस्य पवित्रा श्रेष्ठ तथा सांसद सचिवालयका बाबुराम अर्यालले बुटवलको दिगो विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताएका थिए।

You may also like