भैरहवामा स्कुटरबाट ठूलो परिमाणमा लागूऔषध बरामद, दुई पक्राउ

by समतल अनलाइन
47Shares

भैरहवा। रुपन्देही प्रहरीले स्कुटर जाँचका क्रममा ठूलो परिमाणमा लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। बुधबार दिउँसो करिब १:३० बजे सिद्धार्थनगर नगरपालिका–८ अञ्चलपुर क्षेत्रमा वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रा ७ प ७००७ नम्बरको स्कुटर जाँच गर्ने क्रममा लागूऔषध बरामद गरेको हो।

प्रहरीका अनुसार स्कुटरबाट डाइजेपाम २ एमएलका १४५ एम्पुल, प्रोमेथाजिन एचसीएल २ एमएलका १४५ एम्पुल, बुप्रेनोर्फिन २ एमएलका १४५ एम्पुल, तीन थान सिरिन्ज र दुई थान स्क्रिनटच मोबाइल बरामद गरिएको छ।

पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका–१३ निवासी २२ वर्षीय प्रवेश घर्ती मगर र सोही स्थानका १७ वर्षीय विस्मत घर्ती मगर रहेका छन्।

बरामद लागूऔषध, स्कुटर तथा अन्य सामग्रीसहित दुवै जनालाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

You may also like