बुटवल। बुटवलको राजमार्ग चौराहामा शनिबार भएको सडक दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको छ। दुर्घटना ट्राफिक प्रहरीकै अगाडि भएको बताइएको छ।
मृत्यु हुनेमा सिद्धार्थनगर नगरपालिका–५, बैंक रोड, भैरहवाका ६० वर्षीय तारचन सुनार रहेका छन्।
प्रहरीका अनुसार भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख ३००२ नम्बरको टिप्परले सोही दिशामा अघि बढिरहेको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो। प्रत्यक्षदर्शीका अनुसार चौराहामा तीव्र गतिमा आएको टिप्परले स्कुटरलाई ठक्कर दिएपछि चालक गम्भीर घाइते भएका थिए।
दुर्घटनापछि चोकमा खटिएका ट्राफिक प्रहरी र स्थानीयवासीले घाइते सुनारलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएका थिए। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
दुर्घटनामा स्कुटर पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक थमन जिसीका अनुसार मृतकको साथबाट रु. २ लाख ५० हजार नगद समेत फेला परेको छ।
ठक्कर दिने टिप्पर र त्यसका चालकलाई घटनास्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको छ। चालकलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखी घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

