संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब गोल्डेन जुब्लीद्वारा रक्तदान, ८० युवाको सहभागिता

by समतल अनलाइन
24Shares

बुटवल। लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीले क्लबका संस्थापक अध्यक्ष भेषराज पोख्रेल (राज) को जन्मदिनको अवसर पारेर लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा करिब ८० जना युवाले रक्तदान गर्दै मानवीय सेवाप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्।

क्लबका अध्यक्ष लियो लक्ष्मण खनालले आफ्नो कार्यकालको पहिलो कार्यक्रम रक्तदानजस्तो मानवीय सेवाबाट सुरु गर्न पाउँदा खुसी लागेको बताए। उनले युवाहरूलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरे।

लुम्बिनी प्रादेशिक अस्पतालका प्रशासन प्रमुख प्रेम गौतमको प्रमुख आतिथ्यता तथा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहानको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा १८ देखि ३० वर्ष उमेर समूहका युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रमुख अतिथि गौतमले अस्पतालमै आएर युवाहरूले रक्तदान गरेको कार्य प्रशंसनीय रहेको बताउँदै संकलित रगतको दुरुपयोग हुन नदिने र आवश्यक परेका बिरामीलाई सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धता जनाए।

विशेष अतिथि चौहानले सरकारको मापदण्डअनुसार सबै ब्लड बैंक सञ्चालन हुनुपर्ने आवश्यकता औंल्याउँदै आगामी दिनमा रक्त सेवा अझ व्यवस्थित बनाई अत्यन्तै न्यून शुल्कमा रगत उपलब्ध गराउने व्यवस्था गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा बोल्दै क्लबका संस्थापक अध्यक्ष भेषराज पोख्रेलले आफ्नो जन्मदिनलाई समाजसेवासँग जोडेर रक्तदान कार्यक्रम आयोजना गरिएकोमा खुसी व्यक्त गर्दै कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने सबैप्रति आभार प्रकट गरे। उनले लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीले युवा नेतृत्व विकास, समाज रूपान्तरण, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइजस्ता क्षेत्रमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे।

कार्यक्रम संयोजक गोकुल भण्डारीले बिरामीका आफन्तले रगतका लागि विभिन्न ब्लड बैंक धाउनुपर्ने बाध्यता अन्त्य गर्न तथा सरकारी अस्पतालमै सहज रूपमा रगत उपलब्ध गराउने उद्देश्यले अस्पताल परिसरमा कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरू लियो लायन श्रीधर बस्याल, सुनिल कुँवर, जीवन थापा क्षेत्री, अशोक श्रेष्ठलगायतको उपस्थिति रहेको थियो। उपाध्यक्ष कविराज भुसालले स्वागत मन्तव्य राखेका थिए भने द्वितीय उपाध्यक्ष लियो खिम थापाले धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रमको सञ्चालन सचिव कुशल पाण्डेले गरेका थिए।

You may also like