एजेन्सी।फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा आज दुई पुराना प्रतिद्वन्द्वी अर्जेन्टिना र इङ्ग्ल्यान्ड आमनेसामने हुँदैछन्। एटलान्टामा हुने खेल नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ।
२४ वर्षपछि विश्वकपमा फेरि एकअर्काविरुद्ध उत्रिन लागेका यी दुई टोली फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछन्। विजेता टोलीले उपाधिका लागि स्पेनसँग भिड्नेछ। इङ्ग्ल्यान्ड ६० वर्षपछि दोस्रो पटक विश्वकप फाइनल पुग्ने लक्ष्यमा छ भने साविक विजेता अर्जेन्टिना लगातार दोस्रो विश्वकप उपाधि जित्ने अभियानमा छ।
थोमस टुचेलको प्रशिक्षणमा रहेको इङ्ग्ल्यान्डले समूह चरणमा क्रोएसियालाई ४–२ ले हराउँदै प्रतियोगिताको सुरुआत गरेको थियो। त्यसपछि घानासँग गोलरहित बराबरी खेलेको टोलीले पानामालाई २–० ले पराजित गर्दै समूह विजेता बन्यो।
नकआउट चरणमा इङ्ग्ल्यान्डले डिआर कंगोलाई २–१ ले तथा आयोजक मेक्सिकोलाई १० खेलाडीमा सीमित हुँदै हरायो। क्वार्टरफाइनलमा नर्वेविरुद्ध २–१ को पुनरागमन जित निकाल्दा जुड बेलिङ्घमले दुवै गोल गरेका थिए।
अर्कोतर्फ अर्जेन्टिनाले पनि उत्कृष्ट लय कायम राखेको छ। पहिलो खेलमा लियोनेल मेस्सीको ह्याट्रिकमा अल्जेरियालाई ३–० ले हराएको अर्जेन्टिनाले त्यसपछि अस्ट्रिया र जोर्डनलाई पराजित गर्यो। त्यसपछि केप भर्डे, इजिप्ट र स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा हराउँदै अन्तिम चारमा स्थान बनायो।
मेस्सी प्रतियोगिताभर उत्कृष्ट लयमा छन्। अर्जेन्टिनाका अन्य सात खेलाडीले पनि गोल गरिसकेका छन्। रक्षापंक्तिमा क्रिस्टियन रोमेरो र लिसान्द्रो मार्टिनेज मजबुत देखिएका छन् भने गोलरक्षक एमिलियानो मार्टिनेज पनि उत्कृष्ट फर्ममा छन्।
इङ्ग्ल्यान्डका कप्तान ह्यारी केन र जुड बेलिङ्घमले समान ६–६ गोल गरेका छन्। विश्वकप इतिहासमा एउटै संस्करणमा एउटै टोलीका दुई खेलाडीले कम्तीमा ६ गोल गरेको यो पहिलो अवसर हो। एन्थोनी गोर्डन र बुकायो साकाले समान ३–३ असिस्ट दिएका छन्।
अर्जेन्टिना विश्वकप इतिहासमा छैटौँ पटक सेमिफाइनल खेल्दैछ। यसअघि खेलेका पाँचै सेमिफाइनल जित्दै फाइनल पुगेको अर्जेन्टिना यो कीर्तिमान कायम राख्ने लक्ष्यमा छ। उता, ब्राजिलले १९६२ मा लगातार विश्वकप जितेयता कुनै पनि टोलीले उपाधि रक्षा गर्न सकेको छैन। अर्जेन्टिना त्यही इतिहास दोहोर्याउने प्रयासमा छ।
सम्भावित सुरुआती टोली
इङ्ग्ल्यान्ड: जर्डन पिकफोर्ड, रीस जेम्स, एजरि कोन्सा, मार्क गेही, ओ’राइली, इलियट एन्डरसन, डेक्लान राइस, बुकायो साका, जुड बेलिङ्घम, एन्थोनी गोर्डन, ह्यारी केन।
अर्जेन्टिना: एमिलियानो मार्टिनेज, नाहुएल मोलिना, क्रिस्टियन रोमेरो, लिसान्द्रो मार्टिनेज, निकोलस टाग्लियाफिको, रोड्रिगो डे पाउल, लिएन्ड्रो परेडेस, एलेक्सिस म्याक एलिस्टर, एन्जो फर्नान्डेज, लियोनेल मेस्सी, जुलियन अल्भारेज।
विश्वकपमा विगतका भेट
विश्वकपमा यी दुई टोलीबीच पाँच पटक भेट भएको छ। इङ्ग्ल्यान्डले तीन र अर्जेन्टिनाले दुई खेल जितेका छन्।
१९६२: इङ्ग्ल्यान्ड ३–१ अर्जेन्टिना
१९६६ (क्वार्टरफाइनल): इङ्ग्ल्यान्ड १–० अर्जेन्टिना
१९८६ (क्वार्टरफाइनल): अर्जेन्टिना २–१ इङ्ग्ल्यान्ड (डिएगो म्याराडोनाको ‘ह्यान्ड अफ गड’ र ऐतिहासिक एकल गोल)
१९९८ (अन्तिम १६): पेनाल्टी सुटआउटमा अर्जेन्टिना विजयी
२००२ (समूह चरण): इङ्ग्ल्यान्ड १–० अर्जेन्टिना
अब २४ वर्षपछि विश्वकपमा फेरि आमनेसामने हुन लागेका यी दुई फुटबल महाशक्तिमध्ये विजेता टोलीले जुलाई १९ मा न्यूयोर्क–न्यु जर्सीमा स्पेनसँग विश्वकप उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

