गृहको दबाबमा शङ्कास्पद गाडी बिनाकारबाही फिर्ता

by समतल अनलाइन
23Shares

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आवागमन अवरोध हुने गरी बेवारिसे छाडिएका पाँचवटै गाडीहरू बिनाकारबाही फिर्ता गरिएका छन् । सोमबार राति नै साँचो लिएर आउने व्यक्तिहरूलाई ट्राफिक कार्यालयले ती गाडी जिम्मा लगाएको हो ।

तीन मिडिया हाउसका साथै कांग्रेस सभापति गगन थापाको रातोपुलस्थित निवास र भाटभटेनी सुपर स्टोरमा शंकास्पद ढंगले पार्किङ गरिएका गाडीहरू शंकास्पद रूपमा नै छुटेका हुन् । उपत्यका ट्राफिकले सामान्य जरिवाना पनि नतिराइ गाडी छाडिदिएको छ । अनधिकृत रूपमा पार्किङ गरिएका गाडीलाई ट्राफिक प्रहरीले क्रेनको सहायताले उपत्यका ट्राफिक प्रहरी कार्यालयमा ल्याएर राखेको थियो ।

ट्राफिक स्रोतका अनुसार सोमबार राति गृह मन्त्रालयले ती गाडीलाई तत्कालै छोड्न दबाब दिएको थियो । मन्त्रालयकै हवाला दिएर पुगेका चालकहरूले गाडी लिएर गए । गाडी बुझेर लैजाने व्यक्ति सवारी धनी नभएर उनीहरूले पठाएका व्यक्ति हुन् । उनीहरूको नाम उपत्यका ट्राफिक प्रहरी कार्यालयको अभिलेखमा छैन ।

शंकास्पद पार्किङ गरिएका गाडीका धनी पनि पहिचान भइसकेको थियो । गगन थापाको घरमा राखिएको गाडी कुमारप्रसाद अर्यालको नाममा यातायात व्यवस्था कार्यालयमा दर्ता रहेको ट्राफिक स्रोतले जनायो । कान्तिपुर पब्लिकेसन्स अगाडि राखिएको गाडी रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमणिप्रसाद कलवारका छोरा एवं रास्वपाका केन्द्रीय विभाग सदस्य रवि जयसवालको भन्ने कुरा पनि पुष्टि भइसकेको छ । तर, गृह मन्त्रालयको दबाबपछि गाडी बुझ्न उनीहरू आफैँ गएनन् ।

भाटभटेनीमा अनधिकृत रूपमा पार्किङ गरिएको बागमती प्रदेश–०१–०३३ च ४२७५ नम्बरको हुण्डाई क्रेटा गाडी नीराजन पराजुलीले जिम्मा लिएर लगेका छन् । अनलाइन खबरको गेटमा राखिएको बा.१२ च ८५४५ नम्बरको कार सुनिल पौडेलको नाममा रहेको भेटिएको छ । यातायात व्यवस्था विभाग स्रोतका अनुसार पौडेलको ठेगाना काठमाडौँ उल्लेख छ । कान्तिपुर पब्लिकेशनमा पार्किङ गरिएको बा.प्रदेश–०१–०३४ च ८४८० नम्बरको जिप सानिमा बैंकको नाममा देखिएको छ । बैंकबाट ऋण लिएर एसटी मोटर्सले सो गाडी प्रयोग गर्दै आएको भेटिएको छ ।

You may also like